ओलीसँग पार्टी ब्रेक हुनु दुःखद्, फेरि नेकपातिरै फर्किनुपर्छः प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादको नयाँं यात्रा तय गर्न सवैसँंग आग्रह गरेका छन् । यसका लागि टुक्रिएर रहेका सम्पूर्ण कम्युनिष्ट पार्टीहरुलाई एकताको दिशामा अगाडि वढ्न उनले आह्वान गरेका हुन् ।।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता रामविलाश जोशीको स्मृतिमा भक्तपुरको मध्यपुर थिमिमा भएको रामविलाश जोशी स्मृति प्रतिष्ठान भवन उदघाटन तथा प्रतिमा अनावरण कार्यक्रमको आइतबार भक्तपुरमा उदघाटन गर्दै प्रचण्डले समाजवादको नयांँ यात्रा तय गर्न कम्युनिष्ट पार्टीहरुको एकता आवाश्यक भएको बताएका हुन् ।

त्यही अनुसार पछिल्लो समय आफू नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, विप्लव र उपेन्द्र यादव नेतृत्वको कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको दिशामा लागिरहेको उनले बताए । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेसँंगको एकता बचाउन नसक्नु दुःखद् भएको उनको भनाई थियो । तथापि भएको कमजोरीबाट सिकेर नयाँं चिराबाट एकताको दिशामा अगाडि वढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।

देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवादतिर लैजान सकिन्छ भनेर एमालेसँग एकता गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं। हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्छ।’

उनले त्यो एकता के कारणले टिक्न सकेन भनेर गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने बताए। उनले भने, ‘आज हामीले फेरि एकपटक चिन्तन गर्नुपर्यो कि हिजो एकीकृत भएको कम्युनिष्ट आन्दोलन के कारणले टिक्न सकेन, त्यहाँ के त्रुटी थियो, के प्रवृत्तिका कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्छ। माधवजी र मैले के पनि भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्छ। फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ पनि हामीले भनेका छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement