विवादित अभिव्यक्तिको बचाउमा प्रचण्ड, एमाले भन्छः प्रधामन्त्रीको अभिव्यक्ति राष्ट्रघात र बेइमान


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दिएको विवादित अभिव्यक्तिको बचाउ गरेका छन् । बुधबार अखिल क्रान्तीकारीले आयोजना गरेको स्ववियू काउन्सिलको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले राम्रो गर्न खोजे पनि प्रतिपक्षी दलहरुले बबन्डर गर्न खोजेको भन्दै आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका हुन् ।

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए । ‘उहाँ ( प्रतिम सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाण्डुमा नेताहरु-साथीहरुसँग लगातार छलफल गर्नुभयो,’ प्रचण्डले भनेका थिए ।

प्रधानमन्त्रीकाे उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले आपत्ति जनाएका छन् । यसैबीच बुधबार प्रधानमन्त्री प्रचण्डले आफूले दिएको विवादित अभिव्यक्तिको बचाउ गरेका हुन् ।

‘मैले भने उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन राजनीतिमा पनि उहाँले चासो राख्नु हुन्छ। उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नु हुन्छ कहिले कहाँ पुग्नु हुन्छ। कहिले दिल्ली कहिले नेपालका पार्टीहरुसँग लाग्नु हुन्थ्यो उहाँ भनेर उहाँको बारेमा भनेको कुरालाई अब त्यसलाई उचालेर फेरि एकचोटि बबन्डर गर्न खोजिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

यता एमालेले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रघात, बेइमान भएको भन्दै कडा प्रतिवाद गर्ने बताएको छ । संसद्ले‌ बनाएको प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएकाले त्यसको प्रतिवाद गर्ने एमालेको दावी छ । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताए ।

‘प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन् । ’प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो । प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधि सभा नै हो । जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जाने नै छ ।’, सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement