काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नै भारीले थिचिएर ढल्ने दाबी गरेका छन् ।
प्रेस सेन्टर नेपालले शनिबार दाङमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सरकार गिराउनका लागि माओवादी नलागेको बताए । ‘यो सरकार गिराउनका लागि माओवादी लागेको छैन, यो आफ्नै भारीले थिचिएर ढल्छ,’ दाहालले भने ‘सरकार प्रति कांग्रेस र एमाले भित्रकै नेताहरुको असन्तुष्टिले यसको पुष्टि गरिरहेको छ ।’
आफूहरू सरकार ढाल्ने प्रयासमा नरहेको भन्दै दाहालले वर्तमान सरकार २०८४ सालसम्मै टिके माओवादीलाई फाइदा हुने समेत बताए । ‘यो गठबन्धन २०८४ सम्मै कायम रहे माओवादीलाई फाइदा हुन्छ,’ दाहालले भने, ‘तर सत्य के हो भने सरकार लामो समयसम्म जान्न, हामीले सरकार ढाल्नका लागि केही गर्नै पर्दैन ।’
यसैगरी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सेटिङका लागि आफूलाई दबाब दिएको पनि दाबी गरे । तर आफूले ओलीका सेटिङलाई अस्वीकार गरेको भन्दै उनले यही अस्वीकारका कारण आफूविरुद्ध ओलीले सत्ताको गोटी चालेको समेत बताए ।
‘देशमा विभिन्न सेटिङहरू हुन्छन्, म प्रधानमन्त्री हुँदा मैले यस्ता सेटिङका बारेमा धेरै बुझेको छु,’ दाहालले भने, ‘अहिलेका प्रधानमन्त्रीले मलाई सेटिङका लागि दबाब दिए, तर मैले अस्वीकार गरेँ, मैले अस्वीकार गरेकै कारण सरकारबाट हटाउने खेल ओलीले गरेका थिए ।’
माओवादी पार्टीलाई अहिले बलियो बनाउने अभियानमा रहेको भन्दै दाहालले आगामी निर्वाचन माओवादी एक्लै भिड्ने समेत बताए । माओवादी अब कसैको बैसाखी नबन्ने उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘माओवादी एक्लै चुनावमा जान्छ, लड्छ ।’ उनले भने, ‘माओवादी अब कसैको बैसाखी टेक्दैन, बैसाखी टेकाउने जात हो माओवादी ।’
दाहालले एमालेसँग अब मिल्ने सम्भावना नरहेको पनि बताए । ‘२०७४ सालको निर्वाचनपछि एमालेसँग पार्टी एकताको प्रस्ताव मैले नै गरेको हुँ । तर, पार्टी एकता धेरै टिक्न सकेन । त्यसपछि फेरि म प्रधानमन्त्री हुँदा सहकार्यको निर्णय लिएँ, त्यो पनि टिक्न सकेन,’ उनले भने, ‘त्यसैले अब एमालेसँग मिल्ने सम्भावना छैन ।’
अध्यक्ष प्रचण्डले माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजिएको बताए । ‘माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो । त्यसको पनि समीक्षा गरेर हामी मंसिरमा भएको उपनिर्वाचनमा एक्लै चुनावमा होमियौँ र राम्रो नतिजा पनि ल्यायौँ,’ उनले भने, ‘अब हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ ।’
प्रतिक्रिया