प्रचण्डको ध्यान फेरि सत्तातिर

प्रचण्डको ध्यान फेरि सत्तातिर

सत्ता–सहकार्यका लागि ‘ब्ल्यांक चेक’ बोकेर बुढानीलकण्ठ जाने मुडमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार बन्ने राजनीतिले नयाँ कोर्स लिने संकेत गरेका छन् ।

नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबार चितवनमा पत्रकारहरूसँग कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले नयाँ सरकारका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको र आफ्नो पार्टी समर्थन गर्र्न तयार रहेको पनि बताएका हुन् ।

आफ्नो नेतृत्वको सरकारमा रहेकै बेलामा एमालेबाट अप्रत्यासित धोका व्यहोरेका दाहाल सुरुवातदेखि नै कांग्रेससँग नरम र एमालेसँग गरम देखिदै आएका छन् ।

उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग अलिक बढि नै असन्तुष्ट छन् । संसद् र सडक सबै मोर्चामा दाहाल प्रधानमन्त्री ओलीविरुद्ध नै कडा रूपमा पेश भइरहेका छन् । कांग्रेस–एमाले सहकार्यपछि दाहालले प्रधानमन्त्री ओलीसँगको भेटवार्तापनि मुस्किलले गरेका छन् ।

शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने सवालमा मुख्य दलका मुख्य नेताहरू एक ठाउँमा भेला भएका थिए । तर, प्रधानमन्त्री ओली र दाहालबीच एक्लाएक्लैे पछिल्लो ९ महिनामा राजनीतिक हिसाबले भेटवार्ता भएको छैन । तर, कांग्रेस सभापति शेरबहादुर देउवासँग भने उनले लगातार भेटवार्ता गरिरहेका छन् । दाहालको पारिवारिक समारोहमा समेत देउवाले भाग लिएका छन् ।

हुन त कांग्रेस र एमाले सहकार्यमा प्रधानमन्त्री ओलीभन्दा बढि जोड देउवाको थियो । देउवाले पनि सार्वजनिक रूपमा नै अहिलेको सरकार ठिक रहेको र प्रधानमन्त्री ओलीले राम्रै काम गरिरहेको दाबी गर्दै आएका छन् । दाहालले पनि सरकार बनाउने वा भत्काउने खेलमा आफू कम्तिमा नलाग्ने सार्वजनिक रूपमै बोलेका छन् । तर, पछिल्लो दुई साता यता दाहाल सरकारकै कारण सडकमा जनआक्रोश बढेको र राजावादीहरुको प्रदर्शनमा पनि सरकारकै दोष रहेको निश्कर्षमा पुगेका छन् ।

उनले प्रधानमन्त्री ओलीकै कार्यशैलीको कारण प्रतिगामी शक्तिहरूलाई मलजल भएको र उनीहरू सडकमा उत्रिएको निश्कर्ष निकालेका छन् । अहिले उनले कांग्रेससमक्ष सरकारको नेतृत्व लिन सन्देश पठाएका छन् ।

हालै एक टिभी अन्तर्वार्तामा उनले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने मत राखेका छन् । त्यसमा माओवादीले निःशर्त सघाउने दाहालको भनाइ छ ।

परिवर्तनलाई आत्मसात गर्ने शक्ति भएकोले र १२ बुँदे समझदारीको पनि मुख्य शक्ति भएकोले कांग्रेस र माओवादीबीच सहकार्य आवश्यकत्ता भएको प्रचण्डको ठम्याई छ । उनले देउवालाई सरकारको नेतृत्व लिन आग्रह गरेका छन् । सरकारमा नगएर भएपनि आफ्नो दलले सघाउने उनको भनाइ छ । हालैका दिनमा कांग्रेस नेताहरूले समेत प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सार्वजनिक रुपमा आलोचना गर्न थालेका छन् । खासगरी शेखर कोइराला, गगन थापा, विश्वप्रका शर्माले प्रधानमन्त्रीविरुद्ध टिप्पणी गरिरहेका छन् ।

कोइरालाले सरकार गठन गर्दाको सहमतिबाट कांग्रेस–एमाले गठबन्धन ब्याक भएको भन्दै सरकारको निरन्तर आलोचना गरिरहेका छन् । कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको उनको कडा टिप्पणी आइरहेको छ ।

एमालेलाई मुख्य प्रतिष्पर्धी ठानेका कांग्रेस नेताहरूले सरकारको आलोचना गर्नु र दाहालले पनि कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव राख्नु दुवै विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अहिले एमाले आफै सरकारको नेतृत्वमा भएपनि सडकमा पनि उसकै कार्यक्रम बढि देखिएका छन् । एमालेले देशव्यापी रूपमा जागरणसभा आयोजना गरेको छ ।

आगामी बैशाख ११ गते काठमाडौंमा ४० वर्ष ननाघेका एक लाख युवा उतार्ने एमालेको घोषणा छ । आफै सरकारमा भएपनि एमालेले सडकमा प्रदर्शन गर्दा राम्रो सन्देश नगएको कतिपयको टिप्पणी छ । दाहालले देउवालाई भेटेरै सरकारको नेतृत्व लिन प्रस्ताव राख्ने बुझिएको छ ।

नयाँ वर्ष २०८२ लाग्नेबित्तिकै दाहाल सत्ता–सहकार्यको लागि ‘ब्ल्यांक चेक’ बोकेर बुढानीलकण्ठ जाने मुडमा छन् । देउवाले पनि बिस्तारै आफै सरकारको नेतृत्व लिनेगरि छलफल थालेको बताइन्छ ।