काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेसहित विभिन्न धारामा विभाजित कम्युनिस्ट पार्टी तथा समूहलाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन्।
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै दुवै नेताले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु अहिलेको आवश्यकता भएको व्याख्या गरे।
उनीहरूले एमालेभित्र असन्तुष्ट भएर बसिरहेका नेता–कार्यकर्तादेखि नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य र मोहनविक्रम सिंह नेतृत्वका कम्युनिस्ट घटकसम्मलाई एकता प्रक्रियामा जोडिन भनेका छन् ।
प्रचण्डले भुजेल नेतृत्वको पार्टीसँग भएको एकतालाई कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गर्ने अभियानको अर्को कडीका रूपमा व्याख्या पनि गरे। यो एकता अन्तिम नभएको बताउँदै दाहाले अझै धेरै कम्युनिस्ट समूहलाई एकताबद्ध गर्न बाँकी रहेको सन्देश दिए ।
‘विगतमा थुप्रै साना–ठूला कम्युनिस्ट घटक एकताबद्ध गर्ने पहल गरेका थियौँ। त्यसैको नयाँ कडीका रूपमा आज यो एकता घोषणा भइराखेको छ। यो अन्तिम होइन। हामीले अरू थुप्रैलाई पनि एकतामा ल्याउन बाँकी छ,’ दाहालले भने।
एमालेसहित विगतमा माओवादी र एमालेका विभिन्न धारामा विभाजित भएका सबै समूहलाई एकताबद्ध गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको उल्लेख गरे।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य ‘किरण’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नामै लिएर प्रचण्डले सबैलाई एकतामा आउन अपिल गरे।
‘माधवजीले केपी ओलीको नाम लिँदा अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन। केपी ओली, मोहनविक्रमजी, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत सबै बाँकी कम्युनिस्ट समूहहरूले देशको वस्तुगत आवश्यकता हेरेर एकताबद्ध हुन जरुरी छ,’ उनले भने।
सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई फराकिलो बनाएर एकताका लागि अघि बढ्नुपर्ने उनले बताए। विगतमा एमालेसँग भएको पार्टी एकतालाई पनि स्मरण गर्दै त्यसलाई अहिलेको एकता अभियानसँग जोडेर उनले व्याख्या गरे।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपालले एमालेभित्र विभिन्न कारणले असन्तुष्ट भएर बसेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा सहभागी हुन आग्रह गरे। उनले एमालेभित्रको असन्तुष्टिलाई सम्बोधन गर्दै पार्टी नै लिएर आउने वा विद्रोह गरेर आउने भन्ने विकल्पबारेसमेत टिप्पणी गरे।
‘एमालेमा विभिन्न हिसाबले उकुसमुकुसका साथ बसिरहेकाहरूलाई पनि के शब्द प्रयोग गर्ने ? विद्रोह गरेर आउन भन्ने कि सिंगै पार्टी लिएर आउन भन्ने कि ?’ उनले अगाडि भने ।
उनले उमा भुजेलले विप्लव र पूर्वमाओवादी घटकका नेताहरूलाई एकतामा ल्याउने विषय उठाएको उल्लेख गर्दै एमालेभित्र असन्तुष्ट नेता–कार्यकर्तालाई पनि समेट्नुपर्नेमा जोड दिएका छन्।
नेपालले विप्लव, मोहनविक्रम सिंह र मोहन वैद्य नेतृत्वका कम्युनिस्ट घटकहरूलाई पनि एकतामा आउन भने। विप्लव र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर समाजवादी मोर्चा गठन गरेको र त्यसैमार्फत देशव्यापी अभियान चलाएको प्रसंगसमेत उनले सम्झिए।
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकतालाई प्रचण्ड र माधवले कम्युनिस्ट घटकलाई समेट्ने फराकिलो अभियानका रूपमा प्रस्तुत गरेका छन्। उनीहरूको सम्बोधनमा एमालेसहित विभाजित कम्युनिस्ट धारालाई एउटै राजनीतिक प्रक्रियामा जोड्ने बताए।


प्रतिक्रिया