प्रचण्ड-माधव भेट : एउटै घोषणापत्रमा चुनाव लड्ने सहमति


काठमाण्डु –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको घरमा नीहरुबीच करिब ३ घण्टा छलफल भएको प्रचण्डका प्रेस संयोजक सुर्य किरणले जानकारी दिए । छलफलमा उनीहरुबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको एक नेताले जानकारी दिए ।

त्यस्तै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत उनीहरु सहमत भएका छन् । २०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए ।

दुई शीर्ष नेताबीच आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियाे ।

सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । तर, गठबन्धन दलबीच सिट बाँडफाँटका बारेमा भने सहमति जुटिसकेको छैन ।

भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement