प्रचण्डको भारत भ्रमण : अमेरिका खुसी पारेपछि दिल्लीतिर झुकाव


काठमाण्डु – कुनै बेला नेकपा माओवादीको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेसलाई ‘मुख्य सत्रू’ उल्लेख गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला कांग्रेसका ‘मुख्य सहयोगी’ बनेका छन् ।

कुनै बेला अमेरिकालाई साम्राज्यवादी र भारतलाई विस्तारवादी भन्ने प्रचण्ड यतिबेला दुवैलाई फाइदा पुर्‍याइरहेका छन् । कांग्रेस, अमेरिका र भारत जस्ता थिए, उस्तै छन् तर प्रचण्ड फेरिएका छन् ।

प्रचण्ड यतिबेला सत्ताका लागि जोसुकैसँग सम्झौता र सहमति गर्ने अवस्थामा पुगेका छन् । एमसीसी परियोजनालाई ‘व्याख्यात्मक टिप्पणी’ मार्फत पारित गराएर अमेरिकालाई खुसी बनाएका प्रचण्ड अब भारतलाई खुसी बनाउनतिर लागेका छन् ।

अध्यक्ष प्रचण्ड भोलि शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा अध्यक्ष प्रचण्ड भारत जान लागेका हुन् । पछिल्ला केही वर्षयता प्रचण्डको भारतसँग सुमधुर सम्बन्ध छैन ।

केही महिनाअघि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गर्दै भाजपा मुख्यालयमा समेत पुगेका थिए । केही दिनअघि देउवापत्नी आरजु राणा देउवा समेत भारत भ्रमणमा गएकी छन् । नेपाली कांग्रेसका नेताहरू लगातार भारत भ्रमण गरिरहेका छन् ।

कांग्रेससँगै सत्ता सहयात्रा गरिरहेको माओवादीका अध्यक्ष प्रचण्ड समेत भाजपासँग नजिक हुन भ्रमणमा जान लागेका छन् । भारतसँग प्रचण्डको उतारचढावपूर्ण सम्बन्ध रहँदै आएको छ ।

भ्रमणका क्रममा प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । प्रचण्डले भाजपा अध्यक्ष जेपी नड्डा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने चाहना राखे पनि भेटवार्ता सुनिश्चित भइनसकेको स्रोतले जनाएको छ ।

केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियान्चाओले काठमाण्डुमा उच्चस्तरीय भेटवार्ता गरेका छन् । प्रमुख लिउको काठमाण्डु भ्रमणलगत्तै प्रचण्ड भारत जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । लिउले भ्रमणका क्रममा चिनियाँ स्वार्थ, नेपालमा कम्युनिस्ट एकता लगायत विषयमा छलफल गरेका थिए ।

स्थानीय निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली राजनीतिक नेतृत्वहरू विदेशी सक्रियतामा रमाइरहेका छन् । चुनावका लागि गठबन्धन, तालमेल र पार्टी एकताका सम्भावनाबीच चिनियाँ र भारतीय पक्ष सक्रिय देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement