नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रचण्डकाे प्रतिबद्धता


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चिनियाँ विदेशमन्त्री वाङ यीलाई आग्रह गरेका छन् ।

तीन दिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री यीसँगको भेटका क्रममा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री यीमार्फत चीन सरकारलाई आग्रह गरेका हुन् ।

माओवादी नेता शक्ति बस्नेतले कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रुपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरुले चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको जानकारी दिए ।

सो अवसरमा नेपाल चीन सम्बन्धमा विविध आयामका बारेमा कुराकानी भएको थियो । माओवादी अध्यक्ष प्रचण्डले दुई देश बीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधि गतिविधि हुन नदिने प्रतिबद्धता दोहो¥याएका थिए ।

‘नेपाल सधैँ एक चीन नीतिको पक्षमा अडिग रहेको र उहाँको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन दिँदैनौँ,’ उनले भने । नेपालको आर्थिक विकाससँग जोडिएको बिआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

नेपालको चीनतर्फ बढ्दो व्यापार घाटालाई कम गर्न पनि सहयोग गरिदिन माओवादीका तर्फबाट चिनियाँ विदेशमन्त्रीलाई आग्रह गरिएको थियो ।

कोरोनाका कारण नाका सहज नहुँदा व्यापार घाटा थप चुलिएको सन्दर्भमा आवश्यक नीतिगत एवं प्राविधिक रुपमा देखिएका समस्या समाधान गर्न आग्रह गरिएको नेता बस्नेतले जानकारी दिए ।

कोरोना कालमा चीन सरकारका तर्फबाट नेपालले प्राप्त गरेको सहयोगप्रति माओवादी नेतृत्वले चीन सरकारलाई विशेष धन्यवाद दिएको थियो ।

माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि नेपालको चासो र विकासप्रतिको तीव्र इच्छालाई चीन सरकारले सदैव समर्थन गर्दै सहयोग गरेको र त्यो निरन्तर रहने बताए ।

भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेता बस्नेत, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement