जनकपुरमा पाकिस्तानविरुद्व प्रदर्शन, सेना प्रमुखको पुत्ला दहन

जनकपुरमा पाकिस्तानविरुद्व प्रदर्शन, सेना प्रमुखको पुत्ला दहन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – भारतको कश्मिरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरिएको छ ।

नेपाल–भारत खुला सीमा संवाद समूह र शहिद संजय चौधरी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध जुलुस निकालिएको छ ।

केही दिनअघि पाकिस्तानी सेना प्रमुखले हिन्दू–मुस्लिमबीच द्वन्द्व फैलिने अभिव्यक्ति दिएका थिए । त्यसको केही दिनपछि कश्मिर घटना भएको थियो ।

पाकिस्तान र पाकिस्तानी सेना प्रमुखको अभिव्यक्तिविरुद्व मंगलबार जनकपुरधाममा प्रदर्शन गरिनुका साथै पाकिस्तानी सेना प्रमुखको पुत्ला समेत जलाइएको छ ।

प्रदर्शनका अगुवा संवाद समुहका अध्यक्ष राजिव झाले पाकिस्तानी सेना प्रमुखले गैरराजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दूहरूलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुखविरुद्व पनि प्रदर्शन गरेको जानकारी दिए ।

उनले आतंकवाद कुनै पनि हालतमा कसैका लागि पनि हितकर नभएकाले आतंकवादविरुद्व सबै एक हुनपर्नेमा जोड दिए ।

विरोध प्रदर्शनमा जनकपुरधामका मुस्लिम समुदायका अगुवा र युवाहरूको पनि सहभागिता रहेको थियो । उनीहरूले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रश्रय दिनेको विरोधमा उत्रिन आवश्यक रहेको बताउँदै आक्रोश व्यक्त गरेका थिए ।