रेफ्री हुनुपर्ने देउवा एउटा टिमको जर्सी लगाएर मैदान उत्रिएको भन्दै प्रदीप पौडेल आक्रोशित

रेफ्री हुनुपर्ने देउवा एउटा टिमको जर्सी लगाएर मैदान उत्रिएको भन्दै प्रदीप पौडेल आक्रोशित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति शेरबहादुर देउवा पार्टीभित्रको विवादमा तटस्थ भूमिकामा फर्कने अपेक्षा गरे पनि त्यस्तो हुन नसकेको भन्दै आलोचना गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै पौडेलले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएको विषयलाई लिएर
आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले परिस्थितिलाई रणनीतिक रूपमा सामना गर्नुपर्ने धारणा राखे ।
पौडेलले सर्वोच्च अदालतको आदेशलाई लिएर हतारमा निष्कर्ष निकाल्न नहुने बताए । विवादलाई रणनीतिक रूपमा अघि बढेर समाधान गर्नुपर्ने उनको भनाइ छ ।

‘रणनीतिक ढङ्गबाट हामीले आफूलाई अगाडि बढाऔँ । त्यस्तो धेरै आत्तिइहाल्नु पर्ने अवस्था छ भन्ने मलाई लाग्दैन । अब हामीले अपेक्षा गरेका थियौँ, शेरबहादुर दाइ रेफ्री भएर फर्कनुहुन्छ । शेरबहादुर दाइ कुनै टिमको जर्सी लगाएर फर्कनुहुन्न भन्ने हाम्रो अपेक्षा थियो’, पौडेलले भने, ‘तर हामी अपेक्षा गर्नेहरू पनि त्यस्तै हौँ ।’
पौडेलले देउवाको लामो राजनीतिक यात्रामा विचारको उचाइ निर्माण गर्ने अवसर रहे पनि उनले गुट र शक्ति केन्द्रमार्फत राजनीति गरेको आरोप लगाए ।

‘गुट बनाएर, शक्तिसँग जोडिएर शक्ति केन्द्र निर्माण गरेर उहाँले राजनीति गर्नुभयो । त्यसैले विचारको उचाइ प्राप्त हुने जुन अवसर थियो, मेरो विचारमा हाम्रो पूर्वसभापतिज्युले त्यो गुमाउनुभयो,’ उनले भने ।

यद्यपि अहिलेको परिस्थितिबाट कांग्रेस अलमलिनुपर्ने अवस्था नरहेको पौडेलले बताए । उनले पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयमा नेतृत्व स्पष्ट हुनुपर्ने धारणा राखे ।

देउवा पक्षको गतिविधिमाथि टिप्पणी गर्दै पौडेलले चुनदेवीमा सभापतिको नेमप्लेट राख्दैमा कसैले पार्टीको वैधानिक नेतृत्व प्राप्त गर्न नसक्ने बताए । त्यस्तै, वैधानिकता नपाउने भेलाबाट दस्ताबेज पारित गर्दैमा त्यसले कांग्रेसको आधिकारिकता प्राप्त नगर्ने उनको दाबी छ ।

‘अब एउटा कुनै ढंगले पनि वैधानिक मान्न नमिल्ने भेलामा दस्ताबेज प्रस्तुत गरेर त्यो आधिकारिक हुने होइन । अनि नेपाली कांग्रेसको सभापतिलाई तत्कालीन महामन्त्री भनेर कसैको पनि उचाइ बढ्दैन’, पौडेलले भने, ‘सुशासनको विपक्षमा रहेको दाग लाग्छ । त्यसैले त्यसको जिम्मा लिन पनि जरुरी छैन ।’

उनले संस्थापनइतर पक्षले प्रस्तुत गरेको दस्ताबेजमा कांग्रेसले चुनावी प्रतिबद्धताका रूपमा अघि सारेका कतिपय विषय समेटिएको दाबी गरे । सदस्य व्यवस्थापनमा प्रविधिको प्रयोग गर्ने विषयसमेत त्यहाँ समेटिएको उनको भनाइ थियो ।

महामन्त्री पौडेलले यथास्थितिमा रहेको कांग्रेसलाई परिवर्तनको दिशामा लैजाने काम सभापति गगन थापाको नेतृत्वमा अघि बढिरहेको दाबी पनि गरे ।