प्रदेश १ कोरोनाको उच्च जोखिममा, कोरोनासँग भिड्दै जिउने कला सिकौँः मन्त्री घिमिरे


झापा – प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हरेक नागरिकले जीवनशैलीमा परिवर्तन गर्दै कोरोनासँग भिड्दै, लड्दै जीवन जिउने कला सिक्नुपर्ने बताएका छन् । उनले भारतसँग खुला सिमाना जोडिएका कारण प्रदेश नं १ कोरोनाको उच्च जोखिममा रहेको बताउँदै सरकारको प्रयत्नले मात्र कोरोनालाई परास्त गर्न नसकिने बताएका हुन् ।

झापाको विर्तामोडमा मङ्लबार लीला कट्टेल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘परिवर्तनका पाइलाहरु’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले जीवन शैलीमा परिवर्तन ल्याउन जनसमुदायलाई आह्वान गरे । मन्त्री घिमिरेले सरकारले कोभिड–१९ नियन्त्रणका लागि अनेकौँ उपाय अपनाउँदासमेत समस्यामा कमी नआएको बताउँदै भने, ‘अब व्यक्तिले नै म कसरी बाँच्ने र मेरो परिवार, समुदायलाई कोभिड–१९ बाट कसरी जोगाउने भन्नेबारेमा लाग्न जरुरी छ ।’

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध झापाबाट पहिलो भूमिगत महिलाका रूपमा सहभागी भई आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने स्व लीला कट्टेलको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध अग्रज महिलाहरुले सो प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानले जिल्लाका १५ पालिकामा नेतृत्व गर्ने महिला जनप्रतिनिधिको परिचयलाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष सङ्घीय सांसद पवित्रा निरौला खरेलले यस पुस्तकले सम्पूर्ण महिलालाई र भावी पुस्ताका महिलालाई उत्प्रेरणा प्रदान गर्ने आशा र अपेक्षा लिएको बताइन् । कट्टेलकै सहयोद्धा तथा संविधानसभा सदस्य नरेश खरेलले स्वार्थबाट प्रेरित भएको मान्छेले समाज परिवर्तन गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement