प्रदेश १ मा चाडपर्व लक्षित ७ हजार प्रहरी परिचालन गरिने


काठमाण्डु – प्रदेश १ मा चाडपर्व लक्षित करिब ७ हजार प्रहरी परिचालन हुने भएका छन् ।

दसैंदेखि छठसम्मका लागि प्रदेशमा हुन सक्ने अपराधिक घटना र कोभिड नियन्त्रणका लागि विभिन्न रणनीतिसहित ६ हजार ९ सय २३ जना प्रहरी सुरक्षार्थ परिचालन गरिने प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

उनले दसैँ तिहारका क्रममा चारी, लुटपाट, ठगी जस्ता कुराले प्राथमिकता पाउने गरेको हुदाँ स्थानीयसँगको सहकार्यमा प्रहरी जनताको सुरक्षाका लागि खटिने भएको बताए ।

प्रहरीले चाडपर्वमा सुरक्षाका लािग प्रदेशका विभिन्न स्थानमा ८६ वटा चार पांग्रे सवारी, २ सय ७८ वटा क्विक रेस्पोन्स टोली, २ सय ५ वटा पैदल गस्ती, ३ सय १७ स्थानमा पिकेट परिचालन गर्ने तयारी गरेको छ ।

डीआइजी बिसीले मुख्यतः भारतबाट नेपाल आउने क्रममा ठाउँ ठाउँमा हुनेसक्ने लुटपाट, भीडभाडमा हुने चोरी, सडक दुर्घटना, नाकाबाट हुने चोरी तस्करी जस्ता कुरामा प्रहरीको विशेष ध्यान रहने बताए ।

चाडपर्वका क्रममा सर्वसाधारणको किनमेल, गरगहना जोड्ने, धार्मिक क्षेत्रमा हुन भीडभाड जस्ता स्थानमा बढी लुटपाट तथा चोरी हुने गर्दछ । प्रहरीले यस्ता स्थलमा सादा पोशाकमा सुरक्षा दिने उनको भनाई छ ।

वित्तिय संस्था, सुनचाँदी पसल कारोबार हुने स्थलतर्फ ६४ स्थानमा १ सय ८६ जना, धार्मिक पर्यटनस्थलको सुरक्षाका लयगि ४६ स्थानमा १ सय ७९ जना प्रहरी खटिने छन् । राजमार्ग सुरक्षामा प्रदेशका विभिन्न २० स्थानमा ट्राफिक स्कर्टिङ, ४१ स्थानमा यात्रु सहायता कक्ष स्थापना हुनेछ ।

दसैँको अवधिमा विराटनगर जोगबनी, सुनसरीको भण्टाबारी, काँकडभिट्टा नाकाबाट आउजाउ बढी हुने हुँदा कोभिड नियन्त्रणका लागि समेत प्रहरीले सुरक्षा दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement