रामेछाप – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकलाई निकास दिन कांग्रेस–एमालेको संयुक्त सरकार बनेको बताएका छन् ।
नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले प्रचण्डको अवसरवादी चरित्रका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताए ।
‘प्रचण्डले अस्थिर राजनीतिक खेलमा खेल्ने प्रयास गरेपछि कांग्रेस र एमाले एक ठाउँमा बसेका हौं,’ उनले भने ।
कांग्रेसको एमालेसँग प्रतिस्पर्धा र सहकार्य दुवै भएको उनले बताए । हिजो एमाले र कांग्रेसले पालैपालो लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई बोक्दा देशको व्यवस्था नै गएको कुरालाई सम्झिएर अहिले २ दल एक ठाउँमा आएका उनले बताए ।
सहकारी क्षेत्रमा सरकारको पहिलो प्राथमिकता बचतकर्ताको रकम फिर्ता गर्ने कुरा रहेको ज्ञवालीले बताए । ‘जसले ऋण खाएको छ, उसैबाट उठाएर सरकारले ऋण तिर्ने हो,’ उनले भने ।
सहकारी प्रकरणमा लगत गर्ने जोकोहीलाई पनि कारबाही गरेरै छाड्ने ज्ञवालीले बताए । ‘जुन औंलामा विष लाग्यो, त्यही झर्छ, जसले गल्ती गरेको छ, उही कारबाहीमा पर्छ, कसैलाई पनि छुट दिनु हुँदैन,’ उनले भने ।
भविष्यमा यस्तो बचत तलमाथि नहोस् भन्नका निम्ति आवश्यक विधि बनाउने कुरामा पनि सरकारले काम थालेको उनले बताए । ‘भ्रष्टाचारको मामलामा सरकार निर्ममतापूर्वक उपस्थित हुन्छ, यसमा तलमाथि हुँदैन,’ उनले भने ।
देशको राजनीति र विकास अहिले सामान्य अवस्थामा फर्किएको भए पनि गति लिन अझै बाँकी रहेको उनले स्पष्ट पारे । ‘देशको विकास र राजनीति गेयरमा फर्किएको छ तर अझै गति लिन सकेको छैन,’ ज्ञवालीले भने ।
कार्यक्रममा बोल्दै ज्ञवालीले माओवादी देशमा अस्थिरता मच्चाउन राजावादी र जातिवादीका मोर्चामा पुगेको बताए । ‘प्रचण्डको अवसरवाद हजार जिब्रा भएका शेष नागले पनि वर्णन गर्न सक्दैनन्,’ उनले भने ।
विदेशमा राम्रो छ, देशमा केही छैन भन्ने भ्रमले पनि देशमा समस्या उब्जिएको उनले बताए । दुःखका कुरा थाहा नहुने तर सुख नै सुख देख्ने र देखाइने प्रवृत्तिले विदेशको मोह बढेको ज्ञवालीको धारणा छ । योजनाबद्ध ढङ्गले निराशाको खेती चिर्न जरुरी रहेको उनले बताए ।
प्रतिक्रिया