वीरगञ्ज – खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् ।
शनिबार वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्यांकीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताए ।
उनले भने, ‘नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष्य हो । खानेपानीका क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन्छ । सबै नागरिकलाई सुरक्षित पानी वितरण गर्छाैं ।’
आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दीगो विकासको लक्ष्य हासिल गरिने मन्त्री यादवले बताए । उनले भने, ‘आगामी वर्ष सबै तराई, मधेश, हिमाल र पहाडका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पुर्याउने हेतुले सिङ्गो मन्त्रालय लागिपरेको छ । खानेपानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रूपमा सञ्चालन गर्नेछौं ।’
नागवा खानेपानी ओभरहेड ट्यांकी आयोजना १८ महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको र आफूले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने समेत मन्त्री यादवले आश्वासन दिए ।
उनले भने, ‘मैले मेरो आफ्नै निर्वाचन क्षेत्रका जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने एउटा ऐतिहासिक आयोजनाको शिलान्यास गर्न पाउँदा गर्व महसूस गरिरहेको छु । गाँस, बाँस, कपडा जस्तै पानी पनि मानव जीवनको आधारभूत आवश्यकता हो र आज हामी त्यो आधारभूत हक सुरक्षित गर्न एक कदम अघि बढेका छौं ।’
आयोजनाबाट वडा नम्बर १५ र १६ का करीब ३ हजार ५०० घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिए । उनका अनुसार हालसम्म खानेपानीको अभावमा दैनिक जीवनमा कठिनाइ भोगिरहेका यहाँका नागरिकलाई आयोजना सम्पन्न पश्चात सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने विश्वास लिइएको छ ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह, वडा नम्बर १६ का वडा सदस्य लवङ्गी देवी, वीरगञ्ज–१५ का वडाध्यक्ष रमेश यादव, वडा नम्बर १६ का वडा सदस्य प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष तथा बहुदरमाईका नगर प्रमुख सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साको प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्य जन्नत अंसारी, जसपा केन्द्रीय सदस्य पुरषोत्तम लाल झा लगायको सहभागिता थियो ।
प्रतिक्रिया