काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन १ हप्ताभित्र प्रस्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीलाई भनेका छन् ।
मन्त्रालयमा आयोजित आयुर्वेद सम्बद्ध अधिकारीहरूसँगको बैठकमा बोल्दै मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै मौजुदा अवस्थामै सुधार गर्न सकिने योजनासाथ आउन आग्रह गरे ।
‘सेवा सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्न हामी तयार छौं,’ उनले भने, ‘१ हप्ताभित्र प्रस्ट योजना लिएर आउनुहोला । द्रूतगतिमा सुधार ल्याउने गरी काम गरौं । म साथ दिन तयार छु ।’
उनले स्रोतको मितव्ययी सदुपयोग गर्नका लागि समेत आग्रह गरेका छन् ।
मन्त्री पौडेलले आयुर्वेद उपचारले सान्दर्भिकता गुमाएको जस्तो देखिने भन्दै सुधार गर्न नसकिए पद ओगटेर बस्न नहुने बताए । ‘सकेसम्म सुधार गरौं,’ उनले भने, ‘तर डुबाउने गरी नबसौं ।’
देशमा आयुर्वेदबारे पर्याप्त अध्ययन अनुसन्धान समेत नभएको, रिसर्च सेन्टर नभएको र आयुर्वेद क्षेत्रमा भारतले गरेको प्रगतिबाट समेत सिकेर सुधार गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया