सात करोड असुलीमा प्रकाण्डलाई पाँच दिन थुनामा राख्न अदालतको आदेश, विप्लब र वैद्यले दिए यस्तो चेतावनी


काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जबरजस्ती चन्दा असुली गरिएको अभियागमा मंगलबार बेलुका काठमाडौंको टौदहबाट पक्राउ परेका प्रकाण्डसहित उनका ३ जना सहयोगीमाथि प्रहरीले ७ करोड असुली आरोपमा मुद्दा दायर गरी थुनामा राख्न बुधबार अदालतबाट म्याद थप गरेको हो।

मंगलबार हेटौडाबाट काठमाडौं फर्कने क्रममा प्रवक्ता प्रकाण्डस मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ लाई प्रहरीले पक्राउ गरेको थियो।

आफ्ना केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्रीसहित पार्टीका शीर्ष नेता पक्राउको विरोधमा महासचिव विप्लवले कडा चेतावनी दिएका छन्।

विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितको आन्दोलनको घोषणा गरेको छ। ‘सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ । अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ,’ विज्ञप्तिमा भनिएको छ।

यसैगरी, विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ परेको विरोधमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले विरोध गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै वैद्यले आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय भएको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्ड लगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement