गायक प्रकाश सपूतले मागे माफी


काठमाण्डु – भिडियो क्लीप विवादमा मुछिएका गायक प्रकाश सपूतले माफी मागेका छन् ।

‘कमाउने नि हो, रमाउने नि हो’ बोलको गीतको भिडिओ छायांकनको क्रममा कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा नाचेको भन्दै नेवाः समुदायले आपत्ति जनाएपछि उनी विवादमा परेका थिए ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले उनको आलोचना गरेका थिए । गायक सपूतले फेसबूक पोस्टमार्फत् अन्जानबश गल्ती भएको भन्दै माफी मागेका छन् ।

‘म कलाकारको रूपमा त्यहाँ थिएँ र मलाई त्यसरी इनारमाथि चढ्न हुँदैन्थ्यो भन्ने हेक्का त्यतिखेर भएन । मेरो अज्ञानताप्रति लज्जित छु,’ उनले फेसबूकमा लेखेका छन्, ‘विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनुभएको नेवाः समुदायप्रति क्षमा चाहन्छु । अन्जानबश यो दृश्यले संसारभरि रहनुभएका प्रिय शुभेच्छुकहरूलाई निराश बनाएकोमा म दुःखी छु ।’

आफ्नो कमजोरीहरूमा खबरदारी गरेकोमा उनले धन्यवाद दिएका छन् । ऐतिहासिक महत्त्वको सम्पदाको संरक्षण गर्ने कुरामा सधैं सचेत रहने उनले जनाएका छन् ।

म्युजिक भिडिओबाट त्यो क्लीप पनि हटाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement