प्रेममा बाधक भएको भन्दै छोरीकै योजनामा आमाको हत्या

प्रेममा बाधक भएको भन्दै छोरीकै योजनामा आमाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको खुलेको छ । आफ्ना पति हुँदा हुँदै परपुरुषसँगको सम्बन्धमा रहेकी २७ वर्षीया छोरी ईश्वरी भट्टराईले प्रेमीसँगको सम्बन्धका कारण आमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर सावित्रीको हत्या गरिएको थियो ।

हत्याको अनुसन्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चारजनालाई पक्राउ गरेको छ । ईश्वरीले सिराहा स्थायी घर भई भक्तपुर पुरानो ठिमी बस्दै आएका प्रेमी मोहम्मद नौसादसँगको सम्बन्ध आमाबाट बाहिर आउने थाहा पाएपछि आमाको हत्याको योजना बुनेको प्रहरीले बताएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले प्रेमी नौसादसँगको सम्बन्ध आमाले थाहा पाएपछि छोरीको घरबार बिग्रन नदिने र ज्वाइँलाई भनिदिने भनेपछि ईश्वरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको बताए ।

‘पटक–पटक छोरीलाई भेट्न नौसाद घर आउन थालेपछि आमाले उनीहरुको सम्बन्धबारे थाहा पाइन्, सो कारण छोरीको घर बिग्रन नदिन र ज्वाइँलाई जानकारी दिने भनेपछि प्रेमीसँग मिलेर हत्याको योजना बुनेको देखिन्छ,’ महाशाखाका प्रमुख थापाले भने । उनले हत्यामा भाडाका मान्छे प्रयोग गरिएको अनुसन्धानबाट खुलेको समेत जनाए । ‘आमाबाट सबै कुरा बाहिर आउँछ भन्ने डरले प्रेमीसँग मिलेरै भाडामा दुई जना व्यक्तिलाई हत्यामा प्रयोग गरेको देखिन्छ,’ थापाले भने ।यो समाचार आजको राजधानी दैनिकमा छ ।