ह्वाइट हाउसमा गडबड, ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनलाई ‘पदमुक्त’


ह्वाइटहाउस – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदमुक्त गरेका छन् । बोल्टनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए।

उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन्।बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्। सन् २०१८ मा उक्त पदमा नियुक्त बोल्टन ट्रम्पका तेस्रा सुरक्षा सल्लाहकार थिए।

ट्रम्पले ट्वीट गरेलगत्तै बोल्टन ट्विटरमै यस वियषमा आफ्नो मत राखेका थिए। उनले आफूले राजीनामा बुझाएपछि ’ट्रम्पले त्यसबारे भोलि कुरा गरौँ’ भनेको बताएका छन्।घटना सार्वजनिक भएपछि बोल्टनले टेलिभिजनको प्रत्यक्ष प्रसारणमा रहेका फक्स न्यूजका एक प्रस्तोतालाई एसएमएस सन्देश पठाउँदै आफूले पदबाट राजीनामा दिएको बताएका थिए।

ह्वाइटहाउसले बीबीसीलाई बताएअनुसार चार्ल्स कुपरम्यानले कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्ने छन्। उनी बोल्टनका सहायकका रूपमा कार्यरत थिए। सूत्रहरुका अनुसार राष्ट्रपतिलाई सल्लाह दिने राष्ट्रिय सुरक्षा परिषद् ह्वाइटहाउसभित्र एउटा छुट्टै संस्था बनेको थियो। बोल्टन बैठकहरूमा सहभागी हुँदैनथे। उनी आफ्नै शैलीमा काम गर्थे। परराष्ट्रनीतिका विज्ञ बोल्टन ट्रम्पले इरानविरुद्ध अपनाएको कडा रवैयाका प्रमुख योजनाकार थिए।

अमेरिकाका पूर्व राष्ट्रिय सल्लाहकारले उत्तर कोरिया, रुस र अफगानिस्तानसँग पनि अमेरिका कडा रूपमा प्रस्तुत हुनुपर्ने पहल गर्दै आएका थिए। बोल्टनका कारण गत फेब्रुअरीमा उत्तर कोरियासँग परमाणु निरस्त्रीकरणसम्बन्धी शिखर वार्ता सफल हुन नसकेको अमेरिकी अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement