काठमाण्डु – नेपाल प्रेस युनियनले प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी फागुन ५ गते प्रदेश अध्यक्षहरूको राष्ट्रिय सम्मेलन र ६ र ७ गते जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन काठमाण्डुमा आयोजना गर्ने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश अध्यक्षहरूको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यहरूमा युनियनका उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल र केन्द्रीय सदस्य पेशाल आचार्य छन् ।
जिल्ला अध्यक्षहरूको सम्मेलनको व्यवस्थापकीय तयारीका लागि केन्द्रीय उपाध्यक्ष नकुल अर्यालको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । समितिको सदस्यमा उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल, काठमाण्डुका जिल्ला अध्यक्ष महेश गौतम, ललितपुरका जिल्ला अध्यक्ष केदारनाथ दाहाल र भक्तपुरका जिल्ला अध्यक्ष रोशन शिल्पकार छन् ।
प्रतिक्रिया