ऊर्जामा स्वदेशी लगानी : १७ आयोजनामा एक खर्ब ४८ अर्ब प्रस्ताव


काठमाडौं- मुलुकभित्र लगानीमैत्री वातावरण बन्ने संकेत देखिएपछि स्वदेशी लगानीकर्तामा उत्साह थपिएको छ। उद्योग विभागमा पछिल्लो सात महिना (साउन–फागुन)मा १७ वटा जलविद्युत् परियोजना बनाउन नेपाली लगानीकर्ताले प्रस्ताव गरेका छन्। यी परियोजनाको कुल पुँजी एक खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँ छ।

प्रस्तावित परियोजनामध्ये अधिकांश स्वदेशी लगानीमा बन्न लागेका हुन्। विभागका अनुसार एउटा परियोजनामा स्वदेशी र विदेशी लगानी रहनेछ। बुटवल पावर कम्पनीले मनाङ जिल्लामा निर्माण गर्न लागेको १०० मेगावाट क्षमताको परियोजनामा ८० प्रतिशत विदेशी र २० प्रतिशत स्वदेशी लगानी हुने उल्लेख छ। एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनीको नामबाट आयोजना बन्नेछ।

यो अवधिमा उद्योग विभागमा २२ अर्ब आठ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव ऊर्जा क्षेत्रमा आएको छ। चारवटा परियोजनामार्फत भित्रिने लगानीबाट तीन सय ६० जनालाई रोजगारी दिने प्रतिबद्धता छ। अघिल्लो वर्षको सोही अवधिमा ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता शून्य थियो।

उद्योग विभागका अनुसार गणेश हाइड्रोपावर कम्पनीले दोलखाको झ्याँकु गाविसमा ५.२४३ मेगावाट क्षमताको परियोजना बनाउने प्रस्ताव गरेको छ। पीके हाइड्रोपावर कम्पनीले सोलुखुम्बु, ओखलढुंगा र रामेछापमा ३० मेगावाट क्षमताका आयोजना बनाउने भएको छ। यी परियोजनाको कुल पुँजी पाँच अर्ब १९ करोड हुनेछ।

सानिमा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङको खोक्लिङमा ५४ मेगावाट क्षमताको आयोजना बनाउन लगानीको स्वीकृति पाइसकेको छ। यो आयोजनाको कुल पुँजी नौ अर्ब १० करोड हुनेछ। कुमार खरेलको थ्री स्टार हाइड्रोपावर कम्पनीले खोटाङमा ७.१५१ मेगावाटको परियोजना बनाउने भएको छ। यसमा कुल पुँजी एक अर्ब ३९ करोड रुपैयाँ रहनेछ।

सीईडीबी हाइड्र फन्ड लिमिटेडले संखुवासभाको मकालु गाविसमा ४५ मेगावाट क्षमताको आयोजना बनाउन लगानीको स्वीकृति लिइसकेको छ। यो आयोजनामा कुल पुँजी नौ अर्ब ९५ करोड रुपैयाँ प्रस्ताव गरिएको छ। यस्तै, मोल्निया पावर कम्पनीले रसुवाको डाँडागाउँमा १४.३ मेगावाट क्षमताको आयोजना बनाउँदैछ। यो आयोजनाको कुल पुँजी दूई अर्ब ५७ करोड रहनेछ। पिपुल्स इनर्जीले रामेछापमा ४८.८ मेगावाट क्षमताको आयोजना बनाउन लागेको छ। यो आयोजनामा आठ अर्ब ६४ करोड रुपैयाँ कुल पुँजी रहने उल्लेख छ।

तमोर सानिमा इनर्जीले ताप्लेजुङमा दुई सय ८५ मेगावाट क्षमताको आयोजना बनाउन लगानीको स्वीकृति लिइसकेको छ। यो परियोजनाको कुल पुँजी ४४ अर्ब ४० करोड रहने बताइएको छ। यो परियोजनाले ७६ जनालाई रोजगारी दिनेछ। पायोनियर हाइड्रोले बाजुरामा ४.५ मेगावाट क्षमताको आयोजना बनाउने प्रस्ताव गरेको छ।

निलगिरी खोला हाइड्रोपावर कम्पनीमार्फत म्याग्दीमा ६२.१ मेगावाट क्षमताको आयोजना बनाउन उद्योग विभागमा प्रस्ताव आएको छ। यो आयोजनाको कुल पुँजी नौ अर्ब ३३ करोड रहने उल्लेख छ। सगरमाथा जलविद्युत् कम्पनीले इलाममा एक अर्ब ८५ करोड कुल पुँजीको ९.६ मेगावाट क्षमताको अयोजना बनाउने भएको छ।

हिमाल गुरुङले दोलखामा ७ मेगावाटको आयोजना बनाउने प्रस्ताव गरेका छन्। पुस्कर ढुंगेलले दोलखामै चार मेगावाटको आयोजना बनाउने भएका छन्। ध्रुबराज थापाको ह्याबिटाट पावर कम्पनीले पाँचथरको अमरपुर गाविसमा पाँच मेगावाटको आयोजना बनाउने प्रस्ताव गरेको छ। बुटवल पावर कम्पनीले विदेशी साझेदारसँग मिलेर मनाङमा सय मेगावाट क्षमताको आयोजना बनाउँदैछ। यो आयोजनाको कुल पुँजी एक अर्ब ९० करोड हुने उल्लेख छ।

हरिश्चन्द्र शाहले कालिकोटको कालिका गाविसमा चार सय ४० मेगावाट क्षमताको आयोजना बनाउने प्रस्ताव गरेका छन्। यो परियोजनामा कुल पुँजी ४८ अर्ब ८३ करोड रुपैयाँ रहने उल्लेख गरिएको छ। प्रस्तावित परियोजनामध्ये यो नै सबैभन्दा ठूलो परियोजना हो। छ्याङ्दी हाइड्रोपावर लिमिटेडले लमजुङको फलेनी गाविसमा चार मेगावाट क्षमताको आयोजना बनाउने प्रस्ताव गरेको खबर अाजकाे अन्नपूर्णपाेस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement