प्रदेश २ मा मात्रै कोरोना सङ्क्रमित १०३ पुग्याे


जनकपुरधाम – प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १०३ पुगेको छ । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ थियो भने शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नौ नयाँ सङ्क्रमितमध्ये पर्साको चार जना छन् । सोसमेत गरी यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अब १०३ पुगेको हो ।

थपिएका चार जनामा पर्साको वीरगञ्ज–९ बस्ने नौ र १० वर्षीय गरी दुई बालक र २३ र २७ वर्षीया दुई महिला हुन् । धनुषाकी १७ वर्षीया एक किशोरीमा कोरोनाको सङ्क्रमण भएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले बिहीबार पुष्टि गरेको थियो ।

जनकपुरको रमानन्दचोकमा घर भए पनि तत्काल उनी काठमाडौँमा छिन् । उनकाे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । यस प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा उपचारमा तीव्रता दिनका लागि स्वाबको नमूना सङ्कलनकार्य व्यापकरूपमा अगाडि बढाइएको छ ।

दुई दिनको अवधिमा एक हजारको स्वाब सङकलन गर्ने नीतिअनुरुप पर्सामा ‘कन्टयाक्ट टे«सिङ’ गरिएका मध्येबाट ३५० जनाको स्वाब सङ्कलन शुक्रबार भइसकेको र ३६० जनाको स्वाब सङ्कलनकार्य जारी छ । यस्तै बाराको कलैया अस्पतालमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीको १०० भन्दा बढीको स्वाब सङ्कलन गरिएको छ । रौतहटको गौर नगरपालिकाको गौरी क्याम्पस, राजदेवी नगरपालिका–२, राजपुर नगरपालिका–९ र चन्दनपुर नगरपालिका–१० का साथै महोत्तरीको जलेश्वर नगरपालिकामा पनि स्वाब सङ्कलन भइरहेको प्रदेश सचिव डा घिमिरेले बताए ।

सप्तरी, सिरहा र सर्लाही जिल्लाका जोखिमपूर्ण व्यक्तिको पहिचान गरी स्वाब सङ्कलन तयारी गरिएको छ । यस प्रदेशमा कोरोनाबाट सङ्क्रमित ९६ जनाको उपचार भइरहेको छ । त्यसमध्ये बीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ पुरुष र आठ महिला गरी ७१ र वीरगञ्जस्थित सिद्धार्थ स्कूलको आइसोलेसनकक्षमा रहेका १३ पुरुष र छ महिला गरी १९ जनाका साथै जनकपुरस्थित प्रादेशिक अस्पतालमा पाँच र सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा एक सङ्क्रमितको उपचार भइरहेको छ ।

यस प्रदेशमा अहिलेसम्ममा चार हजार ९८० को स्वाब सङ्कलन गरिएकामा तीन हजार ८१७ को नतिजा नेगेटिभ आएको छ र एक हजार ६४ जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा अहिलेसम्म पाँच हजार ५१७ को आरडिटी परीक्षण गरिएको छ ।

प्रदेश नं २ का विभिन्न क्वारेन्टाइनमा एक हजार ९१५ जना छन् भने होम क्वारेन्टाइनमा चार हजार ६८८ र आइसोलेसनमा १०८ जना बसेका छन् । यसका साथै आइसोलेसनकक्षका लागि प्रदेश सरकारले पहिचान गरेका अस्पताललाई पूर्ण तयारीमा रहन आग्रह गर्दै सचिव डा घिमिरेले बिरामी आएपछि तयारी गर्ने सोचाइ नराख्नतर्फ ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस
Advertisement