प्रदेश ७ मा मतदान गर्न राजपाका २ सांसद गएनन्


डोटी – आज भएको राष्ट्रियसभाको सदस्य निर्वाचनमा प्रदेश ७ मा दुई सय २७ जनाले मतदान गरेका छन् ।

दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको मतदानमा २२७ जना मतदाताले दिउंसो १ बजेसम्म नै मतदान गरिसकेका थिए । राजपाका प्रदेश सांसदहरु मालमती राना थारु र कृष्णकुमार चौधरी मतदानमा सहभागि भएका थिएनन् ।

आफ्नो पार्टीको उम्मेदवार नभएको र अरु पार्टीका उम्मेदवारले मत नमागेकाले मतदान गर्न नगएको राजपा नेतृ एवं प्रदेश सांसद मालमती राना थारुले बताइन् । थोरै संख्या भएका कारण हामीले उम्मेदवार उठाएनौं, अरु पार्टीले पनि हामीहरुलाई सम्पर्क गरेनन्, त्यसैले हामी मतदान गर्न आएनौं ।’

कैलालीको स्थानीय तहबाट निर्वाचित राजपाका अन्य दुई मतदाताले भने मतदान गरेका छन् । मतगणनाको विषयमा छलफल गर्न दिउंसो दुई बजे निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षीय बैठक बोलाएको छ ।

प्रदेश ७ मा राष्ट्रियसभा सदस्यमा ६ जना निर्विरोध निर्वाचित भइसकेका छन् । दलित र अपाङ्ग तथा अल्पसंख्यक गरी दुई सदस्यका लागि वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा छन् । वाम गठबन्धनका तर्फबाट एमालेका चक्रप्रसाद स्नेही र नेपाली कांग्रेसका शेरीराम पार्की दलित सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्का महेशकुमार महरा र नेपाली कांग्रेसका छत्रराज जोशी अपाङ्ग तथा अल्पसंख्यक सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

राष्ट्रियसभामा एउटा प्रदेशबाट ८ जना सदस्य निर्वाचित हुन्छन् । जसमा महिला ३ जना र अन्य ३ जना रहेका छन् । निर्विरोध निर्वाचित हुनेमा वाम गठबन्धनका शेरबहादुर कुंवर, इन्दु कठरिया, कमला ओली र हरिराम चौधरी रहेका छन् । नेपाली कांग्रेसका बन्द्री पाण्डे र तारा भट्ट पनि निर्विरोध निर्वा्चित भएका छन् ।

दुई सय २९ मतदातामध्ये एक सय ४० जना वाम गठबन्धनका छन् । एमालेका एक सय आठ र माओवादी केन्द्रका ३२ मतदाता रहेका छन् । स्थानीय तह प्रमुख र उपप्रमुख र प्रदेश सभा सदस्यहरुले मतदान गर्न पाउने उक्त निर्वाचनमा नेपाली कांग्रेसका ८५ र राष्ट्रिय जनशक्ति पार्टीका चार सदस्य रहेका छन् ।

प्रदेश ७ का ८८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी एक सय ७६ मध्ये एमालेको तर्फबाट ८३ र माओवादी केन्द्रबाट १८ गरी वाम गठबन्धनका १०१ जना मतदाता रहेका छन् ।

यस्तै ५३ प्रदेशसभा सदस्यहरुमा एमालेका २५ र माओवादी केन्द्रका १४ गरी वाम गठबन्धनबाट ३९ सांसद रहेका छन् । नेपाली कांग्रेसको स्थानीय तहका मतदाता ७३ जना र प्रदेश सांसद १२ जना रहेका छन् ।

राष्ट्रिय जनता पार्टीसंग चार मत छन् । स्थानीय तह प्रमुख र उपप्रमुख गरी दुई स्थान जितेको राजपाले प्रदेश सभामा प्रत्यक्षतर्फ एक र समानुपातितर्फ एक सिट प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement