सात नम्बर प्रदेशको राज्य व्यवस्था र समाबेशीताको प्रश्न


-विष्णु अवस्थी ,दैलेखको दुल्लुमा भेटिएको अभिलेख अनुसार पूर्वमा नुवाकोट, पश्चिममा केदार, उत्तरमा तिब्बत, दक्षिणमा तराई भू–खण्डसम्म खस मल्ल राज्य विस्तारित थियो । खस मल्ल राज्यको द्वार कैलाली कञ्चनपुरको मल्लवार थियो । तिब्बतका केही भागसमेत यस राज्यको प्रभावमा परेका थिए । पश्चिममा गढवाल, कुमाऊदेखि पूर्वमा गोरखाको सांधसम्म फैलिएको खस साम्राज्य तत्कालीन नेपालको ठूलो भूखण्ड थियो ।

खस राज्यको राजधानी सिन्जा थियो तिब्बतको खाडी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको मानिन्छ । यो समय १२ औं शताब्दीतिर (ई.स.११५०) भएको अनुमान छ । यस राज्यका शासकहरूमा नागराज, क्राचल्ल, अशोक चल्ल, जितारि मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि रहेको पाइन्छ । यो राज्यको अस्तित्व करीब २२६ वर्ष जति रह्यो । खस राज्यको पतनपछि सुदूर पश्चिममा बझाङ, डोटी, जाजरकोटजस्ता बाइसी राज्य जन्मेका हुन् ।

यसरी बाइसे राज्यहरु जन्मदै गएपछि गोरखाका राजा पृथ्बीनारायण शाहले राज्य एकिकरणको अभियान शुरु गरेको थियो । उनको यो अभियान लाई निरन्तरता दिदै बहादुर शाहको नायबी शासन कालमा यहांका बाइसे राज्यहरु एकिकरण गरिए । राज्य एकिकरणकै दौरान नेपालको भूभाग पश्चिमको देहरादून, अल्मोडा, किल्ला कांकडा सम्म फैलिएको थियो । तर सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल(अङ्ग्रेज युद्धमा ७ ठांउ मध्ये ३ ठांउमा नेपालको पराजय हुन पुग्या । जसको परिणाम स्वरूप सुगौली संधि गरियो र नेपालले आफ्नो एक(तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो ।

१८१६ मा गरिएको सुगौली सन्धिको धारा ३ मा नेपालका राजा तथा तिनका उत्तराधिकारीहरुले काली पश्चिमको भुभाग मा आफ्नो हक त्याग्ने कुरा उल्लेख गरिएबाट तत्कालीन नेपालका काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू, तराई क्षेत्रका केही भागहरू सन् १८६० मा नेपाललाई फर्काइयो र सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६० मा नेपाललाई फर्काइको हो । जसलाई नयाँमुलुक भनिन्छ ।

कैलाली र कन्चनपुरमा कस्को राज्य थियो वा कस्ले शासन गरेका थिए भन्ने विषयमा धेरै थरी कुराहरु रहेका छन फेरी पनि कन्चनपुरमा राजा ब्रह्मदेवका छोराहरु कन्चनपाल देव र सिंहपाल देवले राज्य संचालन गरेका केही प्रमाणहरु रहेक छन । शुक्लाफांटा राष्ट्रिय निकुन्ज भित्र रहेको सिहंपुरमा अझैपनि सिहंपालदेव राजाको दरवारका भग्नावशेषहरु देख्न सकिन्छ भने राजा कन्चनपालदेवको नामबाट कन्चनपुर नाम रहन गएको हो भन्ने भनाइ रहेको छ ।

यसैगरी कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन् । ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन् । परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो । त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो । पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो । माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ ।

सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ । कैलालीमा अहिले पनि ४ गर्खा अर्थात तप्पाहरु रहेको छन । जसमध्ये १) प्रतिहार तप्पा ( भानादेव वंशजका गौतम गोत्रीय, चन्द्रवंशी चन्दको पशुपालन र शासित क्षेत्र) २)बोगटान तप्पा डोटीका ठकुरी बमरठकुरी बोगटी रजवारहरुको पशुपालन र शासित क्षेत्र) ३) मल्हावार मल्लको पशुपालन र जिम्दारी क्षेत्र ४) रैका तप्पा (मुख्यतया रैक्वारक्षेत्र) डोटी रैका शाही र मल्लको पशुपालन र शासित क्षेत्र ।

यसरी कैलाली कन्चनपुरमा परापुर्व कालमा कर्णाली खस राजाहरु र पछि आएर डोटी, डडेल्धुराका मल्ल तथा पाल राजाहरुले आफ्नो कविलाको रुपमा शासन गरेको पाइन्छ । कैलाली कन्चनपुरमा थारु समुदायको बसोबास शासक बर्गको रुपमा भयो कि भन्ने विषयमा अध्ययन गर्दा त्यसो देखिदैन ।

थारु समुदायको आफ्नो चलन अनुसार आफ्नो समुदायमा अगुवा अर्थात शासकको रुपमा बडघर, भलमन्सा छनौट गर्ने र निश्चित समयावधि सम्म त्यसैले आफ्नो समुदायको नेतृत्व गर्ने परम्परा अनुसार पनि उनिहरुको समुदायको व्यक्तिले उपल्लो समुदायको व्यक्तिको समेत शासक भएको देखिदैन । अहिले पनि बडघर तथा भलमन्साहरुको समग्र गाउको भन्दा आफ्नो समुदायको मात्रै नेतृत्व गरिरहेको बाट पनि त्यो कुराको पुष्टि हुन्छ ।

कैलाली कन्चनपुरमा थारु समुदायको जनसंख्या र राज्यको मुलधारमा उपस्थिति
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा करिब ९१ जाती\जनजाती र १०३ भाषा रहेका छन् । नेपालमा रहेका सबै आदिवासी÷जनजाती र भाषा भाषीको दिर्घकालीन हित तथा संरक्षणका निम्ति त्यसको पहिचान हुनु आवश्यक छ । नेपालका प्रमुख आदिवासी÷जनजाती मगर, गुरुङ, नेवार, राई, लिम्बू, थारु, तामाङ लगायतका वास्तविक तथ्याङ्क राष्ट्रिय जनगणना २०६८ बाट नै संकलन गर्नु पर्दछ । जसबाट उनीहरुको बसोबासको जनघनत्व, बसाई सराई, भाषा, संस्कृतिको विषयमान थाहा हुनेछ ।

सुदूरपश्चिमको तराई (कैलाली र कञ्चनपुर) को कूल जनसंख्या १२ लाख २६ हजार ९५७ छ । यसलाई जातीगत जनसंख्याको आधारमा हेर्दा थारु ४ लाख ३७ हजार ९९६, क्षेत्री दुईलाख ९४ हजार ४१६, ब्राह्मण १ लाख ६८ हजार २९४, कामी ९९ हजार ९४०, ठकुरी ५६ हजार ६५, मगर ४१ हजार ८१२, दमाई २७ हजार ५८४, सार्की १४ हजार ५१४, दशनामी १० हजार ८९१, तामाङ आठहजार ८५७, मुसलमान पाँचहजार ३८९, नेवार चारहजार २१३ वादी चारहजार २१३, गुरुङ तीनहजार २७५, राजी दुईहजार ३३ आदि छन् । यस बाहेक यहाँ अन्य जाति समुदायको पनि बासोबास छ, तर न्यून संख्यामा । सुदूरपश्चिममा क्षेत्रीको जनसंख्या पहिलो, थारुको दोस्रो र ब्राह्मणको तेस्रो रहेको छ ।

कैलाली र कन्चनपुरमा भने थारु समुदायको राम्रो उपस्थिति रहको देखिन्छ । कैलालीमा ७ लाख ७५ हजार ७ सय ९ मध्ये ३ लाख २२ हजार १ सय २० थारु समुदायको संख्या रहेको छ । यो समग्र कैलालीको जनसंख्याको ४१.५२ प्रतिशत हो । यसैगरि कन्चनपुरको जनसंख्या हेर्दा ४ लाख ५१ हजार २ सय ४८ मध्ये १ लाख १५ हजार ८ सय ७६ थारुको जनसंख्या रहेको छ । यो समग्र कन्चनपुरको जनसंख्याको २५.६७ प्रतिशत हो । तर प्रदेश नं ७ मा थारुको जनसंख्या हेर्दा १७.२० प्रतिशत छ ।

देशमा सम्पन्न तीन चरणका निर्वाचनहरु मध्ये स्थानीय तहको निर्वाचनमा थारु समुदायबाट राम्रो संख्यामा निर्वाचति भएको पाइन्छ । १३ स्थानीय तह रहेको कैलालीमा ६ वटा प्रमुख र ६ वटा उप प्रमुखमा थारु समुदायका व्यक्तिहरु निर्वाचित भएका छन प्रतिशतका हिसाबले यो ४६.१५ प्रतिशत हो जबकी कैलालीमा थारु समुदायको जनसंख्या ४१.५२ हो जनसंख्याको अनुपातमा स्थानीय तहमा निर्वाचित प्रतिशतलाई सम्मान जनक मान्नु पर्दछ ।

यसैगरि कञ्चनपुरका ९ स्थानीय तहहरु मध्ये २ वटामा प्रमुख र २ वटामा उप प्रमुख थारु समुदायका व्यक्तिहरु निर्वाचित भएका छन । प्रतिशतका हिसाबले यो २२.२२ प्रतिशित हो । २५.६७ प्रतिशत थारुहरुको जनसंख्या रहेको कन्चनपुरमा स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुको अनुपात सम्मान जनक नै छ । पार्टीगत हिसाबले हेर्ने हो भने नेकपा माओबादी केन्द्रबाट निर्वाचित सबै स्थानीय तहका प्रतिनिधि थारु मात्रै छन कैलाली कन्चनपुरमा माओबादी केन्द्रको तर्फबाट शत प्रतिशत थारु समुदायको सहभागिता देखिन्छ । उमेदवारी दिदां पनि माओबादी केन्द्रले कैलालीका १३ स्थानीय तहमा ७ प्रमुख र ९ उपप्रमुख पदमा तथा कन्च्नपुरका ९ स्थानीय तहमध्येमा प्रमुखमा ३ जना र उपप्रमुखमा २ जना थारु समुदायका व्यक्तिहरुबाट दिएको थियो ।

प्रदेश सभामा थारु समुदायको उपस्थिति
७ नं. प्रदेशको ५३ सदस्यिय प्रदेश सभामा ८ जना थारु समुदायबाट निर्वाचित भएका छन । कैलाली र कन्चनपुरमा मात्रै थारुहरुको बसोबास रहेकोले निर्वाचित भएका सबै कैलाली र कन्चनपुरका मात्रै हुन । प्रत्यक्ष निर्वाचित कैलाली कन्च्नपुरका १६ जना प्रदेश सदस्यहरु मध्ये ४ जना थारु समुदायका निर्वाचित भएका छन ।

यसैगरि ४ जना समानुपातिकबाट निर्वाचित भएका छन । यसमा पनि माओबादी केन्द्रले आफ्नो भागमा परेको कैलालीको ४ सीट मध्ये २ वटामा थारु र २ वटामा अन्य समुदायबाट उमेदवार बनाएको मा एउटा थारु र एउटा अन्य समुदायका उमेदवार पराजित भएपछि थारु समुदायबाट ५० प्रतिशत उपस्थिति देखिन्छ । प्रतिशितका हिसाबले ५३ जनामा ८ जना १५ प्रतिशत हो जुन जनसंख्याको प्रतिशत संग पनि मेल खान्छ । अझ त्यसमा पनि कैलाली र कन्चनपुरबाट निर्वाचित प्रदेश सदस्यहरुको अनुपात हेर्ने हो भने १६ जनामा ८ जना ५० प्रतिशत हो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा उपस्थिति
१६ जना प्रतिनिधि सभाका सहस्यहरु मध्ये ३ जना थारु समुदायबाट निर्वाचित भएका छन । प्रतिशतका हिसबले यो १८.७५ प्रतिशत हो, कैलाली र कन्च्नपुरका ८ सीट मध्येबाटै ३ जना निर्वाचित भएका हुनाले यो प्रतिशत ३७.५ हुन आउछ । त्यस्तै ८ जना राष्ट्रिय सभाका सदस्यहरु मध्ये १ जना थारु समुदायबाट निर्वाचित भएका छन, यो १२.५ प्रतिशत हो । यसमा पनि माओबादी केन्द्रले सबैभन्दा बढी थारु समुदायबाट उमेदवारी दिएको थियो ।

माओबादी केन्द्रले ७ नं. प्रदेशमा पाएको प्रतिनिधि सभाको ४ सीट मध्ये १ थारु १ जनजाती र २ खस आर्यबाट उम्मेदवारी दिएकोमा ३ जना निर्वाचित भएका छन । त्यसमध्ये १ खसआर्य, १ जनजाती र १ थारु रहेका छन । यसैगरि माओबादीले पाएको राष्ट्रिय सभाको २ सीट मध्ये एउटामा थारु एउटामा दलित गरि ५० प्रतिशत थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गरिदिएको छ ।

७ नं. प्रदेशमा थारु समुदायको सम्मान जनक प्रतिनिधित्व हुन नसकेको भनि जुन प्रपोगाण्डा फैलाइदैछ, त्यो गलत हो, अझ त्यसमा पनि माओबादी केन्द्रले थारु समुदायलाई मुख्य मन्त्री नदिएको भनि आरोप लगाइएको छ, प्रतिनिधित्वका हिसाबले सबैभन्दा बढी थारु समुदायबाट प्रतिनिधित्व माओबादी केन्द्रले मात्रै गरेको देखिन्छ । जहांसम्म थारु समुदायबाट मुख्यमन्त्री बनाउनु पर्ने भन्ने प्रश्न छ , त्यो माग गर्नु ठिकै होला, माग गर्नु पनि पर्दछ, तर प्रदेशको राजधानी तराईमा हुंदा जहां पहिले सुदुरपश्चिमको सदरमुकाम थियो त्यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्ति मुख्य मन्त्रीहुंदा अझ बढी न्यायोचित हुन्छ । त्यसैले मुख्य मन्त्री बनाउने सवालमा माओबादी गरेको निर्णय ठिक मान्नु पर्दछ ।

अन्तमा
संविधानको मौलिक हकले महिला र दलितलाई मात्र समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक प्रदान गरेको छ । अरुलाई समावेशी सिद्धान्तको आधार मात्र भनेको छ । सुदूरपश्चिम (प्रदेश नं. ७) मा जसरी थारु र गैरथारु हिजोदेखि मिलेर बस्दै आएका छन भोलि पनि बस्नैपर्छ । २०७२ सालको भाद्रमा भएको टीकापुर घटना एउटा भवितव्य घटना थियो ।

विशुद्ध राजनैतिक मागका लागि गरिएको आन्दोलन भित्र आपराधिक गिरोहले धमिलो पानीमा माछा मार्ने कार्य यो घटनामा गरियो, यस्ले थारु समुदायमा हारको मानसिकता रहेको देखिन्छ । जसले थारु गैरथारुबीचको विश्वासमा केही दरार पारिदिएको छ । टीकापुर घटनामा दोसी ठहर भई २३ जना थारु अहिलेपनि धनगढी कारागारमा बन्दी जीवन विताइरहेका छन् ।

त्यसको समाधान खोज्नु नै अहिलेको आवश्यकता हो । त्यो बेला यस्तो भएको थियो, उस्तो भएको थियो भनेर उचाल्नेहरु पनि छन । तर त्यसरी ७ नं. प्रदेशको सम्बृद्धि हुदैन । थारु र गैरथारु मिलेर बस्नुमा नै यहाँको समृद्धि सम्भव छ । एकापसमा तिक्तता पालेर बस्ने हो भने, त्यस्तो घटना पुनः दोहोरिन सक्तैन भन्न सकिन्न । समस्या समाधान हामी सबै मिलेरै गर्ने हो । समाज रुपान्तरणका लागि सबैले सबैको सम्मान गर्न जान्नु पर्दछ ।
लेखक : नेपाल पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement