गृहमन्त्रीको निर्देशनमा राष्ट्रपतिदेखि प्रदेशमन्त्री सम्मको पिएसओ तानिँदै

गृहमन्त्रीको निर्देशनमा राष्ट्रपतिदेखि प्रदेशमन्त्री सम्मको पिएसओ तानिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृह मन्त्रालयले संघीय सरकारका मन्त्रीबाहेकका सबैको व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) तत्काल परिवर्तन गर्न निर्देशन दिएको छ ।

गृहमन्त्री सुधन गुरुङले हालका पिएसओहरुलाई तत्काल फिर्ता बोलाएर नयाँ पठाउन प्रहरी मुख्यालयलाई निर्देशन दिएका हुन् ।

व्यक्तिगत चिनाजानी र सम्बन्धका आधारमा पदाधिकारी आफैंले छानेर लिएकाले पिएसओहरु फर्काउन लागिएको गृहका एक अधिकारीले जानकारी दिए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, न्यायाधीशहरु, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशका सभामुख/उपसभामुख, प्रदेश सरकारका मन्त्रीहरु तथा उच्च र जिल्ला अदालतका न्यायाधीशलगायतले पिएसओ पाउँदै आएका छन् ।


गृहले ती सबैलाई फिर्ता बोलाएर अर्को जिम्मेवारीमा खटाउन र नयाँ पठाउन निर्देशन दिएको हो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्की हाल अमेरिका भ्रमणमा रहेका कारण पिएसओ परिवर्तन गर्ने गृहमन्त्रीको निर्देशन कार्यान्वयनमा ढिलाई भएको छ ।

महानिरीक्षक कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा २३ र २४ असारमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

हाल अतिरिक्त प्रहरी महानिरीक्षक राजन अधिकारी निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारीमा छन् ।

प्रहरी प्रधान कार्यालयले पिएसओहरुलाई नयाँ जिम्मेवारीका लागि तयार रहन भन्दै कुने पनि बेला फिर्ता हुन निर्देशन आउन सक्ने जानकारी गराएको छ । निर्णय भने महानिरीक्षक कार्की स्वदेश फर्किएपछि हुनेछ ।