पहिलो पटक सार्वजनिक बसमा ‘फस्ट एड बक्स’


बागलुङ – वेलनेश टिम काठमाडौँको सहयोगमा धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिद्वारा चल्ने बसमा औषधि सेवा उपलब्ध गराउन शुरु गरिएको छ । समिति मातहतमा रहेका २०० बसमा यात्रुलाई सेवा प्रदान गर्नका लागि औषधिको फस्ट एड बक्स (पहिलो सहायता बक्स) राख्न शुरु गरिएको धवलागिरि अञ्चल यातयात बस व्यवसायीले जनाएको छ ।

नेपालमै पहिलोपटक बागलुङदेखि सञ्चालन हुने बसमा औषधिको बक्स राख्न शुरु गरिएको बेलनेश टिमका अध्यक्ष नितु खड्काले बताए । बसमा यात्रा गर्दा बीच बाटोमा यात्रु बिरामी हुँदा प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले औषधिको बक्स वितरण गरिएको अध्यक्ष खड्काको भनाई छ ।

स्वास्थ्यको बारेमा जनचेतना जगाउन र आफूलाई के रोग लागेको छ र कुन विशेषज्ञलाई जचाउनुपर्दछ भन्ने जानकारी कार्यक्रमले प्रदान गर्नेछ । बसलाई बक्स वितरणसँगै औषधिको प्रयोगका बारेमा पर्चासहित तालीम दिइने अध्यक्ष खड्काको भनाई छ ।

औषधि बक्स सर्वसाधारणलाई समेत वितरण गर्ने वेलनेशले जनाएको छ । रु एक हजारमा वितरण गर्ने जनाएको वेलनेशले आर्थिक अवस्था कमजोर भएको परिवारलाई न्यूनतम रु ५० सम्ममा वितरण गर्ने जनाएको छ । बक्समा सामान्य चोटपटक लाग्दा घाउँमा लगाउने औषधि, टाउको दुखेको, पेट दुखेको, बमिट नआउने, जीवनजल, उच्च रक्तचापलगायत १६ प्रकारका औषधि र औजार रहेको वेलनेश टिमका सचिव ओमविक्रम खड्काले जानकारी दिए ।

बसमा यात्रा गर्दा बिरामी भएर यात्रुलाई असहज हुने गरेकाले त्यसको अन्त्यका लागि बसमा प्राथमिक उपचारका औषधि राखिएको धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताए ।यसैबीच बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रूपमा विकास भइसकेको सर्वसिद्धिधाम पञ्चकोटसम्म जाने केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement