लखनउबाटै राजाको आयो यस्तो वक्तव्य– दलहरुका कारण राष्ट्रिय अखण्डता मक्किएको आरोप


काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव मक्किँदै गएको दाबी गरेका छन् । उनले नयां नेपालका नाममा सामाजिक सदभाव मक्किएको बताएका छन् । भारतको लखनउमा रहेका पूर्वराजाले २९६ औं पृथ्वी जयन्तिका अवसरमा बुधबार जारी गरेको सन्देशमा पुरानो नेपालको जगेर्ना हुनुपर्ने जिकिरसमेत गरेका छन् ।

 

पूर्वराजाले सन्देशमा भनेका छन्–‘नयाँ नेपालको सपना देखाउँदै गरिएको राजनीतिक परिवर्तनपश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको छ। ’

 

 
‘आफ्नै भूमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कसीमा राख्नुपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसाथ गर्नुपर्दछ ।’ पूर्व राजाले सन्देशमा भनेका छन् ।

 

पूर्व राजा शाहले दलहरूलाई लक्षित गर्दै ‘निर्दयी कदम चाल्नेहरू’को आरोप समेत लगाएका छन् । उनले नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको भन्दै सम्भालिएर अघि बढ्नु पर्ने बाध्यात्मक परिस्थिती उत्पन्न भएको दाबी गरेका छन् ।

 

‘नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको छ । तर, नेपालप्रति सम्मानभाव नराखी यसको एकता र सद्भाव बिथोल्न भएका अनेकौं प्रयास अझै जारी रहेको छ ।’ ज्ञानेन्द्रले वक्तव्यमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement