काठमाण्डु – नेपाली कांग्रेसभित्र निर्वाचन सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षधरको भेलाले सर्वाेच्च अदालतको फैसला मान्ने निर्णय गर्दैे एकताबद्ध पार्टीका लागि बृहत् परामर्श गर्ने निष्कर्ष निकालेको छ ।
अदालतले सभापति गगनकुमार थापा पक्षलाई आधिकारिकता दिएपछि शनिबार नेता पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकले पार्टी एकताबद्ध गर्ने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
बैठकपछि उनले भने, ‘फैसलाबारे असहमति छ । तर संवैधानिक निकायको फैसलालाई हामी स्वीकार गर्छाैँ । एकताका लागि सबै पक्षसँग परामर्श आवश्यक छ । सबैसँग बृहत् परामर्श गर्ने भन्ने निष्कर्ष बैठकको छ ।’
सर्वोच्चको संक्षिप्त आदेशमा देउवा पक्षले कारबाहीको विषयमा निर्वाचन आयोगलाई गराएको जानकारी र विशेष महाधिवेशनबारे दिएको उजुरी पत्रलाई राजनीतिक दलको ऐन दफा ४३ र ४४ अन्तर्गतको उजुरी मान्न नमिल्ने भएकाले कारबाही सदर हुन नसक्ने उल्लेख छ । केन्द्रीय पदाधिकारीको हेरफर अद्यावधिक भएपछि गगन थापाको हस्ताक्षरबाट फागुन २१ को संघीय संसद्को निर्वाचन सम्पन्न भएको र त्यसले राजनीतिक वैधता प्राप्त गरेको सर्वोच्चको ठहर छ ।
नेता विश्वकर्माले भने, ‘पार्टीभित्र सांगठनिक र भावनात्मक एकता कायम गर्नुपर्ने दायित्व अब सभापति थापाकै जिम्मेवारीमा आएको छ ।’




प्रतिक्रिया