सशस्त्रमा आईजीपी नियुक्त भएका केसी को हुन् ?


काठमाण्डु – सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी केसीलाई आईजीपी नियुक्त गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चार वर्षे कार्यकाल पूरा गरी संगठनबाट सोमबार विदा भएपछि वारियतामा अगाडी रहेका केसीले निमित्तको जिममेवारी समेत पाएका थिए ।

केसीले २०४९ वैशाख १८ गते नेपाल प्रहरी सेवामा प्रहरी निरीक्षकका रुपमा प्रवेश गरेका थिए । उनी २०५८ सालमा डीएसपीमा बढुवा भएर सशस्त्रमा प्रवेश गरेका थिए । उनी २१ दिनका लागि मात्र आईजीपी नियुक्त भएका हुन् ।

को हुन् केसी ?

नुवाकोटको शिवपुरी घर भएका केसी सशस्त्र प्रहरीभित्र व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । उनले नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरीबाट स्टाफ कलेज समेत गरेका छन् । केसी २०५८ सालमा सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । उनिसंगै हालसालै अवकासप्राप्त महानिरीक्षक शैलेन्द्र खनाल र एआईजी रामशरण पौडेल एकैदिन प्रहरी र सशस्त्रमा प्रवेश गरेका हुन् ।

उनिहरुको ब्याचमा सुरुदेखी नै एसएसपी हुंदासम्म केसी नै एक नम्बरमा थिए । तर, गृहमन्त्री विजय कुमार गच्छेदार हुंदा केसीलाई पछी पारेर खनाललाई एक नम्बरमा बढुवा गरिएको थियो । पछि माओवादीको सरकार हुंदा खनालले पुष्पकमल दाहालको बलमा एकल दरबन्दी सिर्जना गरेर एआईजी बढुवा भएका थिए भने केसी पछी परेका थिए । यद्यपी डीआईजीमा भने खनाल एक नम्बरमा र केसी दुई नम्बरमा बढुवा भए ।

आईजीपीका लागि केसी र खनालबीच प्रतिस्पर्धा भएपनि तत्कालिन सरकारले खनाललाई नै महानिरीक्षक नियुक्त गरेका थियो । केसी ०६१ एसपी, २०६६ मा एसएसपी,०६९ मा डीआइजी र ०७४ मा एआईजीमा बढुवा भएका थिए ।

राजनीतिक लविङमा नलाग्ने केसी संगठनभित्र र बाहिर सबैले मन पराएका अधिकारी हुन् । तर, आईजीपी बन्न राजनीतिक शक्ति नै आवश्यक हुने भएकाले त्यो बेला खनालले बाजी मारेका थिए । खनाल राजनीतिक लविङमा अगाडी थिए ।

बुधवार महानिरीक्षक नियुक्त भएका केसीको चार वर्षे कार्यकाल गत वर्ष नै सकिएको थियो । तर, सरकारले आवश्यक ठानेमा एक वर्ष थप गर्न सक्ने नियमावलीमा व्यवस्था भए बमोजिम उनको एक वर्ष म्याद थप भएको थियो ।

आईजीपी खनालले उनिहरुको कार्यकाल थप्न नचाहेपनि गृहमन्त्रालयले त्यो बेला हस्तक्षेप गरेर केसी र अर्का एआईजी पौडेलको म्याद थप गरेको थियो । त्यही म्याद थपले केसीको आईजीपी बन्ने बाटो खुलेको हो । नभए केसी खनालसंगै अवकास पाउनेमा थिए । उनि दुई वर्षका लागि सशस्त्रको प्रमुख बन्न सक्नेछन् । तर, त्यो सम्भावना भने अहिले कम रहेको स्रोत बताउंछ ।

सशस्त्र प्रहरी प्रमुख हुनुभन्दाअघि उनि कार्य तथा सीमा सुरक्षा विभागका प्रमुख थिए । केसी नेपाल प्रहरीमा हुंदा समेत उनको धेरै लामो समय तालिम र प्रशिक्षणको क्षेत्रमा बितेको छ । उनले प्रहरी निरीक्षक हुंदा प्रहरी प्रशिक्षण प्रतिष्ठान र भरतपुर तालिम केन्द्रमा काम गरेका थिए ।

द्वन्द्वको समयमा उनले एक वर्ष जाजरकोटमा,७ महिना ट्राफिक र केही समय तनहुमा समेत बसेर काम गरेका थिए ।

सशस्त्रमा हुंदा ककनीमा प्रशिक्षक हुनुको साथै मधेष आन्दोलनको समयमा उनि बर्दियाको छिन्नमस्ता गणको गणपति थिए । एसएसपी हुंदा उनले तालिमसम्बन्धी नीति निर्माणको जिम्मेवारी सम्हालेका थिए ।

केसीले डिआईजी हुंदा पूर्व क्षेत्रको प्रमुख,सचिवालय र प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए उनकै पहलमा एपीएफ स्टाफ कलेजको स्थापना समेत भएको हो । कोरोना महामारीको बेला उनी सशस्त्रको तर्फबाट सीसीएमसीको प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement