वागनर समूहका कारण रुसी सेनामा संकट, पुटिनका लागि गम्भीर चुनौती!


काठमाण्डु- युक्रेनविरुद्ध युद्धरत रुसमा त्यहाँको निजी सैन्य समूह वागनर समूहको गतिविधिले रुसी सैन्य संरचनामा संकट उत्पन्न गरेको छ । भाडाका सैनिकहरूको समूह वागनरका प्रमुख एगबेनी प्रिगोझिनले हालै रुसी सेनाविरुद्ध दिएको अभिव्यक्तिले नयाँ तरंग पैदा गरिदिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रिगोझिनले रोस्तोब अन डन सहरस्थित रुसी सेनाको दक्षिणी मुख्यालयलाई नियन्त्रणमा लिएका छन् । यससँगै उनीमाथि सैन्य विद्रोहको आरोप लागेको छ । प्रिगोझिनका अनुसार उनको समूहका लडाकुहरू युक्रेनको सीमा पार गर्दै रुसको रोस्तोब अन डन सहरमा प्रवेश गरिसकेका छन् ।

सार्वजनिक भएको एक भिडियोमा प्रिगोझिनले रुसी रक्षामन्त्री सर्गेइ सोइगु र जनरल वालेरी गारासिमोवले यदि उनलाई भेट नदिएमा उनको समूह राजधानी मस्को प्रवेश गर्ने धम्की दिएका छन् । कतिपयले पछिल्लो परिवर्तित अवस्थालाई सैन्य ’’कू’’को संकेत भनी टिप्पणी गरेका छन् ।

आफूहरू रेस्तोब सहरमा रहेको भन्दै उनले रक्षामन्त्री र सैन्य जनरल आफूलाई आफूले भेट्न चाहेको बताएका छन् । यदि उनीहरू त्यहाँ नपुगेसम्म आफूहरू त्यहीँ रहेर रोस्तोब सहर घेराउ गर्ने प्रिगोझिनले धम्की दिएका छन् । यसबीचमा वागनर समूहले मस्कोलाई जोड्ने मुख्य सडक पनि बन्द गरिदिएको स्थानीय अधिकारीहरूले पुष्टी गरेका छन् ।

साथै आफ्नो मार्गमा अवरोध गर्न कोही आएमा त्यसलाई आक्रमण गर्ने पनि उनले चेतावनी दिएका छन् । यससँगै उक्त सहरका अधिकारीहरूले स्थानीय बासिन्दालाई घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रोस्तोव सहरमा वागनर समूहका लडाकुहरू तैनाथ गरिएको तस्बिर सार्वजनिक भएका छन् । वागनर समूहको गतिविधि सक्रिय भएसँगै राजधानी मस्कोमा सुरक्षा व्यवस्था कडा पारिएको छ । रुसको पछिल्लो अवस्थालाई लिएर कतिपय विशेषज्ञहरूले पुटिनको नेतृत्वमा सबैभन्दा खराब संकटको संज्ञा दिएका छन् । मस्कोस्थित स्वतन्त्र सैन्य तथा रक्षा विश्लेषक पाभेल फेल्गेनरले अलजजिरासँगको अन्तर्वार्तामा पुटिन शक्तिमा आएदेखि नै अहिले सबैभन्दा ठूलो संकटको सामना गरिरहेको बताएका छन् ।

‘रुसी नेतृत्व र व्यक्तिगत रुपमा पुटिनका लागि यो ज्यादै गम्भीर चुनौती हो,’ फेल्गेनरले भनेका छन्, ‘पुटिनको साढे २२ वर्षको शासनकालमा यो सबैभन्दा खराब संकट हो । यसभन्दा ठूलो अर्को कुनै संकट उनीसँग छैन । उनलाई अहिले ज्यादै प्रभावकारी सैन्य चुनौती दिइएको छ । मलाई के विश्वास छ भने पुटिनले यसपटक आफ्नो जीवनकै लागि लड्नु पर्ने छ ।’

के हो वागनर समूह ?

वागनर युक्रेन युद्धमा रुसी सेनासँग मिलेर लडिरहेको एक निजी अर्थात् भाडाको सैन्य समूह हो । ६२ वर्षीय एबगेनी प्रिगोझिन यसका प्रमुख छन् । उनी हाल रुसी सेनाविरुद्ध उत्रिएपछि चर्चामा छन् ।

युद्धमा लडाइँको तरिकालाई लिएर वागनर समूह र रुसको सरकारी सेनाबीच तनाब बढिरहँदा पछिल्लो समय सैन्य ‘कू’ को संकेत देखिएको हो । यस क्रममा प्रिगोझिन रुसी सेनाप्रति आक्रामक रुपमा प्रस्तुत हुँदैछन् । रुसी सेनाले वागनर लडाकुलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको प्रिगोझिनले आरोप लगाउँदै आएका छन् । यद्यपि यसबारे उनले कुनै प्रमाण सार्वजनिक गरेका छैनन् । तर रुसी अधिकारीहरूले उनको आरोप गलत भएको जवाफ दिँदै वागनरका गतिविधि तुरुन्त रोक्न चेतावनी दिएका छन् ।

वागनर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडिरहेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ती भएका थिए ।

पछिल्ला गतिविधिपछि राष्ट्रपति भ्लादिमिर पुटिनले वागनर समूहको गतिविधिलाई देशद्रोहको संज्ञा दिएका छन् । प्रिगोझिनले भने आफूहरू न्यायका लागि लडिरहेको र रुसी सेनाले रोक्न नसक्ने चेतावनी दिएका छन् । तर यो सैन्य विद्रोह नभएको प्रिगोझिनको दाबी छ । एजेन्सीहरुकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस
Advertisement