एजेन्सी– रुसले आगामी केही वर्षभित्र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) राष्ट्रमाथि हमला गर्न सक्ने अमेरिकी गुप्तचर निकायले आकलन गरेको छ ।
अमेरिकी अखबार ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार रुसले कुनै सदस्य राष्ट्रमाथि साइबर हमला, हाइब्रिड कारबाही वा सीमित सैन्य घुसपैठ गर्न सक्ने दाबी गरेको छ ।
नेटोको सामूहिक रक्षा प्रतिबद्धता कति बलियो छ भन्ने परीक्षण गर्न पनि रुस त्यसो गर्न उद्धत रहेको निस्कर्ष अमेरिकी गुप्तर निकाको छ ।
अमेरिकी गुप्तचर आकलनबारे जानकार स्रोतका अनुसार यस्तो कदम ठूलो युद्ध सुरु गर्ने उद्देश्यभन्दा नेटोको प्रतिक्रिया र ऐक्यबद्धता परीक्षण गर्न केन्द्रित हुन सक्छ ।
अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले सम्भावित रुसी हमला आगामी शरद ऋतुदेखि सन् २०२९ सम्मको अवधिमा हुन सक्ने अनुमान गरिएको जनाएको छ । ठूलो भू–भागमा प्रत्यक्ष सैन्य आक्रमणको सम्भावना भने तत्काल कमै रहेको औंल्याइएको छ ।
सम्भावित निशानाका रूपमा बाल्टिक क्षेत्रका देश वा पोल्यान्डलाई हेरिएको स्रोतहरूको दाबी छ । यद्यपि रुसले कहिले र कुन स्वरूपमा यस्तो कदम चाल्न सक्छ भन्ने स्पष्ट छैन ।
नेटोको धारा ५ अनुसार एक सदस्य राष्ट्रमाथि भएको सशस्त्र आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ ।
तर, साइबर हमला, हाइब्रिड गतिविधि वा सीमित घुसपैठजस्ता घटनामा धारा ५ लागू हुने अवस्था स्पष्ट नहुन सक्ने भएकाले रुसले त्यही सीमाको परीक्षण गर्न सक्ने अमेरिकी आँकलन छ ।
युक्रेन युद्धको अवस्थाले पनि जोखिम बढाउन सक्ने अमेरिकी तथा नेटो अधिकारीहरूको बुझाइ छ । पुटिनले युक्रेनबाट आफूलाई सम्मानजनक रूपमा बाहिरिने बाटो नपाए नेटोविरुद्ध तनाव बढाउन सक्ने सम्भावना रहेको उनीहरूको अनुमान छ ।
नेटोले भने सम्भावित जोखिमप्रति निगरानी गरिरहेको र आवश्यक परे सदस्य राष्ट्रहरूको रक्षा तथा प्रतिरोधका लागि तयार रहेको जनाएको छ ।
नेटोमा अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स, बेल्जियम, लक्जेम्बर्ग, डेनमार्क, नर्वे, आइसल्यान्ड, ग्रीस, टर्की, पोल्यान्ड, चेक गणतन्त्र, हंगेरी, बुल्गेरिया, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, इस्टोनिया, लाट्भिया, लिथुआनिया, अल्बानिया, क्रोएसिया, मोन्टेनेग्रो, उत्तर म्यासेडोनिया, फिनल्यान्ड र स्विडेन छन् ।




प्रतिक्रिया