क्वारेन्टाइनका महिलालाई मर्यादा किट


रुकुम – रुकुमपूर्वको क्वारेन्टाइनमा बसेका किशोरी र महिलालाई मर्यादा किट वितरण गरिएको छ । महिला र किशोरीलाई कोरोना भाइरसबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामग्री डिग्निटी किट वितरण गरिएको हो ।

जिल्लाका तीनमध्ये दुई स्थानीय तह भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका १० किशोरी र ६० महिलालाई मर्यादा किट वितरण गरिएको छ । जिल्लाको एउटा स्थानीय तह सिस्ने गाउँपालिकाको क्वारेन्टाइनमा किशोरी र महिला छैनन् ।

झोलामा महिलालाई दैनिक आवश्यक पर्ने धोती, टिसर्ट, पेटीकोट, भित्री कपडा, सेनेटरी प्याड, शारीरिक सरसफाइका सामान, तौलिया र लाइटलगायत सामग्री दिइएको छ ।

दुई गाउँपालिकाका कवारेन्टाइनमा बसेका ७० किशोरी र महिलालाई मर्यादा सामग्री वितरण गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपिए) रुकुम (पूर्व) का जिल्ला कार्यक्रम अधिकृत भुवन सेजुवालले बताए ।  झोलामा किशोरीका लागि १० र महिलाका लागि १५ प्रकारका स्वास्थ्य सामग्री छन् । युएनएफपिएले उपलब्ध गराएका मर्यादा सामग्री गाउँपालिकामार्फत वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement