रास्वपा खास जातिको पहिचानको पक्षमा छैन : सभापति लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू नेतृत्वको दल खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

बुधबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै आफूहरू बहुपहिचानको पक्षमा रहेको स्पष्ट पारे ।

‘बरु चुनाव हारौंला तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति गर्दैनौं । बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एकल पहिचानले हित गर्दैन,’ उनले भने ।

रास्वपाले सबैभन्दा बढी पहिचानको मुद्दालाई व्यवहारमा उतारेको उनले बताए ।

उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले आचारसंहिता अक्षरसः पालना गराउन सुरक्षा निकायलाई दिर्नेशन दिँदै मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी दिए । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ ।

‘मौन अवधि भनेको मनि (पैसा) अवधि भएको कुरा तपाईंहरूले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले चेतावनी दिँदै भने, ‘खबरदार ! इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको रूपमा प्रयोग नगरोस् ।’

आचारसंहिता उल्लंघन गर्नेलाई कानूनको दायरामा ल्याएरै छोड्ने उनको दृढता छ । लामिछानेले काठमाण्डु, चितवन र तनहुँमा जस्तै इलामवासीले पनि जोडदार रूपमा घण्टी बजाउने विश्वास व्यक्त गर्दै भने, ‘यथास्थिति रोज्ने कि परिवर्तन विवेकपूर्ण निर्णय गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस
Advertisement