काठमाण्डु – चितवन जिल्ला अदालतमा सहकारी ठगी प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि बुधबार बिहान अदालतमा उपस्थित भएकोमा अदालतले बयान लिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासमा रविको बयान भएको छ । बयान सकिएपछि अब थुनछेक बहसको तयारी गरिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
बहसका लागि दुवै पक्षबाट १३ जनाले वकालतनामा दर्ता गराएका छन् । सरकारी वकीलको तर्फबाट ३ जना, सहकारी पीडितको तर्फबाट ४ जना र रविको पक्षबाट ६ जनाले बहस गर्न वकालतनामा दर्ता गरेका छन् ।
जिल्ला सरकारी वकीलको कार्यालय चितवनले मंगलबार रविसहित १५ जनाविरुद्ध पुरक अभियोगपत्र दायर गरेको थियो ।
प्रतिक्रिया