चितवन अदालतमा थुनछेक बहस हेर्दाहेर्दैमा, रवि लामिछाने फेरि प्रहरी हिरासतमा

चितवन अदालतमा थुनछेक बहस हेर्दाहेर्दैमा, रवि लामिछाने फेरि प्रहरी हिरासतमा


काठमाण्डु – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएको छ ।

बुधबार थुनछेक बहस नसकिएकाले अदालतले आरोपी लामिछानेलाई हिरासतमा पठाएको हो । उनी बुधबार बिहान अदालतमा उपस्थित भएपछि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान लिएर थुनछेक बहस सुरु गरिएको थियो ।

जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले अभियोजन पक्षबाट ३ जनाले बहस गरेका जानकारी दिए । जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका छन् । जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका छन् ।

सहारा चितवन सहकारीमा रकम ठगी भएको भन्दै रविविरुद्ध मुद्दा दायर भएको थियो ।

यसअघि सहकारी ठगी प्रकरणमा रवि कास्की र काठमाण्डुमा प्रहरी हिरासतमा बसिसकेका छन् । कास्की, काठमाण्डु र रुपन्देही जिल्ला अदालतले रविलाई धरौटीमा रिहा गरेको छ ।