चितवन-२ मा हुने उपनिर्वाचनमा रविले लड्न पाउने सम्भावना कम


काठमाण्डु- अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि रवि लामिछानेको संसद पद गएको छ । सर्वोच्च अदालतले गरेको उक्त ठहरपछि लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको अध्यक्ष पद पनि गएको हो ।

लामिछाने चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट चुनाव जितेर संसद छिरेका थिए । उनको संसद पद गएसँगै अब चितवन २ मा उपनिर्वाचन हुने भएको छ । यसैबीच रविले उक्त निर्वाचन भाग लिन पाउने छन् या छैनन् भन्नेबारे बहस सुरु भएको छ ।

रविले पुनः नेपाली नागरिकता प्राप्त गरेपछि चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उनी भाग लिन पाउनेछन् । सर्वोच्चको फैसलापछि गैरनागरिक बनेका लामिछानेलाई पुनः नागरिकता प्राप्त गर्ने बाटो भने खुला छ ।

तर, त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने जनाइएको छ। अन्य कसुरमा उनीमाथि मुद्दा चलेर कारबाही अगाडि बढेको अवस्थामा भने उनको त्यो अवसर पनि गुम्ने देखिएको छ ।

लामिछानेले दोहोरो नागरिकता लिएको, पासपोर्ट लगायतका विषयमा भने अझै पनि छानबिन हुने देखिएको छ । सर्वोच्च अदालको फैसलाले अब ती कसुरमा पनि छानबिन गर्न बाटो खुला गरेको हो । यससँगै चितवन-२ मा हुने उपनिर्वाचनमा उनले भाग लिन पाउने सम्भावना कम दिएको छ ।

पुस ७ गते प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका रवि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement