जलविद्युत् उत्पादन र आईपीओको सवालमा सरकार निर्मम नै बन्छ : सभापति लामिछाने

जलविद्युत् उत्पादन र आईपीओको सवालमा सरकार निर्मम नै बन्छ : सभापति लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले इमानदार उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै आईतबार उनले रास्वपा र वर्तमान सरकारप्रति सशंकित नहुन आग्रह गरेका हुन् ।

‘रास्वपाले वाचापत्रमार्फत धेरै कुरा राखेको छ, वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधनका लागि आम सर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष रूपमा सम्बोधन गर्न रास्वपाले रोडम्याप बनाएको छ,’ उनले भने, ‘रास्वपा प्राकृतिक स्रोतहरूको सदुपयोग गर्दै आर्थिक उत्पादनमा जोड दिन चाहन्छ । सरकार रास्वपाको वाचापत्र हेरेर चल्छ ।’

नियमसंगत व्यापार व्यवसाय गर्ने व्यवसायहरूले रास्वपाका कुनै नेतालाई भेट्नु नपर्ने र कसैको घर र पार्टी कार्यालय टेक्नु नपर्ने उनले बताए । ‘रास्वपाको सरकारले निजी क्षेत्रका समस्या सहजै सम्बोधन गर्न चाहन्छ । पहिला तपाईंहरूले फरक खालको प्रयोग र अनुभव लिनुभयो होला, सहभागी हुन पनि भयो होला । तर हामी तपाईंहरूलाई फरक ढंगबाट देखिने गरी परिवर्तन महसूस गराउन चाहन्छौं,’ उनले भने, ‘धरपकडका विषयमा म निजी क्षेत्रलाई स्पष्ट पार्न चाहन्छु, हामी सुशासन र आर्थिक वृद्धिको डिपार्चरमा जान चाहन्छौं । यसमा केही असहज हुन सक्छ । तपाईंहरूको क्षमता र सहयोगलाई साथमा लिएर नै अघि जान सक्छौं भनेर सरकार अघि बढेको हो । रास्वपाको सरकारले लिएको लक्ष्य, उद्देश्य पूरा गर्ने आधार निजी क्षेत्र पनि हो । ७० वर्षदेखि खाडलको रूपमा रहेको दुर्गतिलाई पुर्न सरकार अघि बढ्छ । स्पष्ट बहुमत हुँदाहुँदै पनि केही द्रूतमार्गको बाटो लिन आवश्यक परेको हो ।’

निजी क्षेत्र सशंकित हुनुपर्ने, डराउनुपर्ने, आत्तिनुपर्ने कुनै कारण नरहेको जनाउँदै उनले व्यवसायीहरूलाई कुनै खालको दु:ख दिन नचाहेको बताए । ‘तर केही व्यवसायीहरू, पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नुपरेको हो । यसका लागि सरकारले बेलैमा नियन्त्रण गर्न त आवश्यक छ । सरकारले अहिले यही गरेको हो,’ उनले भने, ‘आयातमुखी कि उत्पादनमुखी हुने भन्ने सवालमा हामी अवश्य यस जटिलतामा छौं । रुग्ण उद्योगहरू सञ्चालनमा देखाउनुभएको चासो सराहनीय छ, हामी त्यसमा सकारात्मक छौं । निजी क्षेत्रलाई सञ्चालनका लागि अघि बढाउन पनि सरकार सकारात्मक छ ।’

सरकार जलविद्युत् उत्पादनमा र आईपीओको सवालमा निर्मम नै बन्ने उनले बताए । ‘घाटामा गएको कम्पनीलाई आईपीओ जारी गर्न दिएर जनताको पैसा डुबाउन हामी सक्दैनौं । यसमा सरकार स्पष्ट छ,’ उनले भने, ‘आय करमा सीमा घटाउने कुरामा सरकार सकारात्मक छ । आयको ५० प्रतिशत कर तिर्ने भन्ने कुरा जायज पनि छैन, हामी सुधारका लागि तयार छौं ।’

सरकारको स्थिरता, रास्वपाको लक्ष्य र उद्देश्यबाट कहीँकतै विचलित नहुने उनले स्पष्ट पारे । ‘देशका नागरिकलाई कोही कसैलाई पनि घरबारविहीन बनाउँदैनौं । आज केही समस्या भएको छ तर यसले सधैँका लागि समस्या समाधान गर्छ । खोलाको किनारामा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छ । सबैको सुरक्षा र प्रतिस्थापनामा सरकार लाग्छ, कसैलाई पनि घरबारविहीन बनाउँदैन,’ उनले भने, ‘आउने दिनमा तपाईंहरूलाई सरकारले बोलाउनेछ, कार्यक्रम हामी गर्छौं, तपाईंको आवश्यकता हामीलाई हो ।’