‘रवि बालुवाटारमा निराश भएपनि बालकोट पुगेपछि खुसी हुन्छन्’


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।  बिहीबार बिहानै बालुवाटार पुगेर रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

आजको भेटमा पनि उनले प्रचण्डसँग आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न आग्रह गरेका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि रवि लामिछानेले संसद् पद गुमाएका थिए ।

आइतबार रविले नेपाली नागरिकता पुनः प्राप्त गरिसकेका छन् । नेपाली नागरिकता पुनः प्राप्त गरिसकेपछि रविले आफूलाई गैरसांसदको रुपमा गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डसँग पटक पटक आग्रह गरिरहेका छन् । तर, प्रचण्ड गृहमन्त्री आफैँसँग राख्न चाहन्छन् । यसैबीच हिजो पनि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरे ।

हिजोको भेटमा पनि प्रचण्डले आनाकानी गरेपछि रवि सिधैँ बालकोट पुगेका थिए । बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनले भेटवार्ता गरेका हुन् । त्यसपछि प्रचण्डलाई मनाउन अध्यक्ष ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालुवाटार छिरे ।

बालुवाटारमा प्रचण्डसँग ओलीले रविलाई गृहमन्त्रीमा नियुक्त गर्नुपर्ने सुझाव दिए । तर, प्रचण्डले रविलाई दिएको जवाफ नै अध्यक्ष ओलीलाई दिएको बुझिएको छ । पछिल्लो समय अध्यक्ष ओली भने रविलाई पुनः गृहमन्त्री नियुक्त गर्नुपर्नेतर्फ खुलेका छन् । पुस १० गते भएको सहमति अनुसार रास्वपाले नै उक्त मन्त्रालय पाउनुपर्ने उनको भनाइ छ । आज मात्रै ओलीले रास्वपाले नै गृह मन्त्रालय पाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसँग पहिला भएको सहमति अनुसार रास्वपाले नै गृहमन्त्री पाउने बताएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्नेबारे दिएको अभिव्यक्तिप्रति ओली भने,‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?’

यता गृहमन्त्री रास्वपालाई नदिन प्रधानमन्त्री प्रचण्डलाई माओवादी नेताहरुले दबाब दिइरहेका छन् । सरकारको नेतृत्व गरिरहेको दलले मुख्य मन्त्रालय नपाएको भन्दै माओवादी नेताहरूले गृहमन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने माग राखेका हुन् ।

त्यसकारण पनि प्रचण्डले अध्यक्ष ओलीको कुरा सुनिरहेका छैनन् । पहिला पनि रविले सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रचण्डले गृहमन्त्रालय रास्वपालाई दिएका थिए । तर, अब राजनीतिक परिस्थिति बदलिएको छ । सांसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धन कहिले सम्म टिक्छ भन्ने प्रश्न नै खडा गरेको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement