ललिता निवासमा निर्णयकर्ताहरूलाई सुनपानी छर्किए जसरी चोख्याएर पठाइयो : रवि लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ताहरूलाई सुनपानी छर्किए जसरी चोख्याएर पठाइएको गुनासो गरेका छन् ।

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले सरकारले सुशासनको कुरा गरे पनि आफ्नो ढोकामा आरोप नआइपुग्दासम्म मात्रै सुशासनको कुरा भइरहेको शंका गरे ।

‘आफ्नो ढोकामा आरोप नआइपुग्दासम्मको सुशासन हो कि ? भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेका कर्मचारीको सरुवा–बढुवा भयो, सरकारलाई शंका गर्न यो पर्याप्त छैन र ?’ उनले भने, ‘ललिता निवासमा जग्गा किन्नेहरू पक्राउ परे । निर्णयकर्ताहरूलाई सुनकानी छर्किए जसरी चोख्याएर पठाइयो, यही हो सुशासन ?’

राज्यका निकायलाई निकम्मा बनाइएको आरोप उनले लगाए । ‘राज्यका निकायलाई कति निकम्मा बनाएका छौं, गौंणा गौंणामा आफ्ना मान्छे भर्ती गरेका छौं,’ उनले भने ।

लामो समय संसद् बैठक अवरुद्ध भएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘यतिका दिनसम्म संसद् किन बन्द भयो ? कसले बन्द गर्‍यो ? यो गम्भीर प्रश्न खडा भएको छ । हाम्रा संकल्प प्रस्ताव छन्, ऐनमा छलफल हुनुपर्थ्यो, अत्यन्त दुःखद कुरा भयो ।’

संसद्मा अर्थतन्त्र उकास्न छलफल हुनुपर्ने उनले बताए । ‘अर्थतन्त्र दयनीय अवस्थामा पुगेको छ । अर्थतन्त्र उकास्ने कुरा हुनुपर्थ्यो । सँगैका दुईटा राष्ट्र उन्नतिको चरम बिन्दुमा छन्, हामी – भन्दा पनि लाज ! हामी पुलिसको सरुवाबढुवामा आँखा लगाएर बसेका छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement