सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन, मातहत कार्यालयमा परिपत्र


काठमाण्डु – प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन दिएको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले सादा पोशाकमा प्रहरी परिचालन नगर्न काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सातै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय सबैलाई निर्देशन गरिएको जानकारी दिए ।

सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको छ ।

प्रहरीको परिपत्रमा भनिएको छ, ‘हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ ।’

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली २ घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement