कास्की जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च पुगे रवि लामिछाने

कास्की जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च पुगे रवि लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६५ लाख रूपैयाँ धरौटी माग्ने कास्की जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पोखरा पुगेका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले २५ पुसमा लामिछानेलाई तत्काल प्राप्त प्रमाणबाट अहिले नै कसुरदार रहेनछन् भन्न सकिएन भन्दै ६५ लाख धरौटी माग गरेको थियो ।

लामिछानेलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउनुपर्ने माग राखी सरकारी पक्ष उच्च अदालत पुगेपछि त्यसको प्रतिवादमा लामिछाने पनि धरौटी रकम चर्को परेको भन्दै अर्को निवेदन लिएर पुगेका हुन्।

कास्की अदालतको आदेशमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उपर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा अभियोगमा मुद्दा चलिरहेको छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा पनि रवि ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् भने आइतबार मात्र बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।