काठमाण्डु – नेपाली कांग्रेस संस्थापनइतर (देउवा) समूहको भेलाले पारित गरेको प्रस्तावप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वनेता रविन्द्र मिश्रले प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै मिश्रले भेलाबाट पारित प्रस्तावमा महत्वपूर्ण राजनीतिक विषयलाई स्पष्ट रूपमा राख्न नसकेको भन्दै नेताहरूमाथि प्रश्न उठाएका हुन् ।
मिश्रले कांग्रेसइतर पक्षको भेलाले पारित गरेका २ प्रमुख निर्णयलाई ‘दोधारे’ र ‘काइते’ भाषामा प्रस्तुत गरिएको टिप्पणी गरे । विशेषगरी राष्ट्रियता, लोकतन्त्र र धर्मसम्बन्धी प्रस्तावमा स्पष्ट धारणा राख्न नसकेको उनको आरोप छ ।
भेलाको प्रस्तावको बुँदा नम्बर २ मा बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिलाई उल्लेख गर्दै ‘राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने’ उल्लेख गरिएकोप्रति मिश्रले प्रश्न उठाएका छन् ।
उनले कांग्रेसको विगतको राजनीतिक प्रयोग देशहितमा नभएको निष्कर्षमा पुगेको भए त्यसलाई स्पष्ट रूपमा स्वीकार गरेर दृष्टिकोण परिवर्तन भएको घोषणा गर्नुपर्ने धारणा राखे । मिश्रले कांग्रेसको मौलिक नीतिका रूपमा आफूले व्याख्या गरेको ‘संवैधानिक राजसंस्था’मा फर्किने कुरा स्पष्ट रूपमा भन्न नसकेको भन्दै नेताहरूप्रति व्यंग्य गरेका छन् ।
प्रस्तावको बुँदा नम्बर ३ मा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने’ भनिएको विषयप्रति पनि मिश्रले असन्तुष्टि व्यक्त गरेका छन् । ‘सनातन धर्म’ भन्नाले के अभिप्राय राखिएको हो भन्ने स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
मिश्रले हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको नेपालसँगको परम्परागत सम्बन्धलाई अलग रूपमा व्याख्या गर्न सकिने भए पनि ‘सनातन धर्म’ भन्ने शब्दले अन्तर्राष्ट्रिय रूपमा फरक अर्थ बुझाउने भन्दै प्रश्न गरेका छन् । उनले नेताहरूले स्पष्ट रूपमा ‘हिन्दू अधिराज्य’ भन्ने धारणा राख्न किन नसकेको भन्दै प्रश्न गरेका छन् ।
मिश्रले कांग्रेस संस्थापनइतर समूहका नेताहरूलाई आफ्नो राजनीतिक धारणा स्पष्ट रूपमा राख्न चुनौती समेत दिए । उनले विगतमा आफू र आफ्ना केही साथीहरूले राजनीतिक दृष्टिकोण परिवर्तन गर्दा ‘विगतमा गल्ती भयो, जुन नेपालको हितमा देखिएन, त्यसैले हामीले दृष्टिकोण परिवर्तन गर्यौँ’ भनेर स्पष्ट रूपमा भनेको उल्लेख गरेका छन् ।
उनले अन्य नेताहरूलाई पनि दोधारे भाषा प्रयोग गरेर जनतालाई भ्रममा नपार्न आग्रह गरे । देश ‘जटिल मोडमा’ रहेको अवस्थामा महत्वपूर्ण राजनीतिक विषयमा स्पष्ट धारणा आवश्यक रहेको मिश्रको भनाइ छ ।
मिश्रले कांग्रेसको लामो राजनीतिक इतिहास र शासनको अवधिलाई लक्षित गर्दै ‘यति वर्ष जेल परेको’ वा ‘यति वर्ष राजनीति गरेको’ भनेर मात्र गर्व गर्नु पर्याप्त नहुने टिप्पणी गरे । उनले स्पष्टता र राजनीतिक आँट आवश्यक रहेको भन्दै नेताहरूलाई व्यंग्यात्मक शैलीमा ‘आँट र स्पष्टता सिक्न चाहनुहुन्छ भने मकहाँ आउनुस्’ समेत भनेका छन् ।




प्रतिक्रिया