अब तीन दिनमै उपलब्ध हुने भाे राहदानी


काठमाडौं– अब तीन दिनभित्रै राहदानी उपलब्ध हुने भएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘राहदानी विधेयक, २०७५’ स्वीकृत गरेसँगै अब तीन दिनभित्रै राहदानी उपलब्ध हुने भएको हो।

यसअघि प्रतिनिधिसभामा ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्य रहेको बताएका थिए।

‘अहिले अत्यन्तै आवश्यक भए एक दिनमा नै राहदानी उपलब्ध हुन्छ, अब सामान्य अवस्थामा पनि बढीमा तीन दिनमा राहदानी उपलब्ध गराउन पहल भएको छ, यो व्यवस्था शीघ्र कार्यान्वयनमा आउँछ,’मन्त्री ज्ञवालीले भने।

मन्त्री ज्ञवालीले कूटनीतिक राहदानी प्रयोग गर्न योग्य सबै व्यक्तिले सहज रुपमा नै पाउने व्यवस्था गरिएको पनि जानकारी दिए।

विदेश जाँदा अध्यागमनबाटै फर्कनुपर्ने, अपमानजन्य व्यवहार भोग्नुपर्ने अवस्था नआओस् भनेर राहदानी पाउने व्यवस्थालाई सरलीकृत गरिएको उनले जानकारी दिए।

त्यसअघि सांसद भीमसेनदास प्रधान, सञ्जयकुमार गौतम, प्रेम सुवाल, दिव्यमुनि राजभण्डारी, अमरेशकुमार सिंह र भरत शाहले राहदानी पाउने व्यवस्थालाई सरलीकृत र सहजीकरण गर्न सरकारलाई सुझाव दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement