भारतको रेल दुर्घटनामा मृत्यु हुने ७ नेपाली सबैको सनाखत

भारतको रेल दुर्घटनामा मृत्यु हुने ७ नेपाली सबैको सनाखत


काठमाण्डु – भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी मृत्यु हुने ७ नेपालीको सनाखत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै रेल दुर्घटनामा मृत्यु हुनेमा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका एक जना रहेका जानकारी दिएको छ ।

अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी छन् भने बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको दुर्घटनामा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका ४ जना मध्य ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

९ माघ साँझ भएको रेल दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो ।