बुधनगर–कटहरी रेलमार्ग विस्तार दुई महिनापछि


विराटनगर – भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ । विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो ।

रेलमार्ग विस्तारको दोस्रो खण्डअन्तर्गत बुधनगर लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिनुभयो । बुधनगरमा निर्माणको अन्तिम चरणमा रहेको आईसीपीसम्म रेलमार्ग निर्माण करिब अन्तिम चरणमा पुगेपछि सात महिना अगाडिदेखि रोकिएको थियो ।

एक महिनाभित्रै आठ किलोमिटर दूरीका लागि बोलपत्र खोल्ने प्रक्रिया अगाडि बढिसकेकोले निर्माणले पुनः निरन्तरता पाउने कुमारको दाबी छ । नेपालतर्फ रेलमार्ग निर्माणका लागि जग्गा प्राप्त भई नसकेको र भारतले समेत बजेट रोकेका कारण काम स्थगित गरिएको भारतीय पक्षको दावी छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement