काठमाण्डु – बुधबार साँझ काठमाण्डु उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ ।
हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डुमा गड्याङगुडुङसहित वर्षा भइरहेको छ । पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
बुधबार राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया