हेटौंडा – प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन्। प्रदेशसभाले गर्ने निर्णयमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको आरोप उनीहरूको छ। शुक्रबार र शनिबार प्रदेश संसदीय दलको बैठकमा बोल्ने कतिपय सदस्यहरूले भने पार्टी सचिवालयको निर्णय मान्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।
बैठकमा शुक्रबार बोलेका १७ जना प्रदेशसभा सदस्यमध्ये अधिकांशले पार्टी निर्णयको विरोध गरेका थिए। शनिबार पनि ३ जना सदस्यले पार्टी निर्णयको विरोध गरेका छन् । प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले संविधानले व्यवस्था गरेको अधिकार प्रदेशसभाले स्वतन्त्र ढंगले प्रयोग गर्न पाउनुपर्ने बताए। अष्टलक्ष्मी शाक्य, केशव स्थापित, राजेश शाक्यलगायत पनि सचिवालयको निर्णय सहजै मान्ने पक्षमा छैनन् ।
अर्का सदस्य विनोदकुमार खड्काले कम्युनिस्ट पार्टीको कार्यकर्ता भएपछि केन्द्रको निर्णय मान्नैपर्ने बताए । ‘कम्युनिस्ट पार्टीमा खुला छलफल हुन्छ। तर हामी निर्णयमा पुग्दा एकमत हुन्छौं’, नेकपाका मुख्य सचतेक रामेश्वर फुयाँलले भने, ‘प्रदेशसभामा हामी प्रदेशको स्थायी राजधानी र नामबारे एकमत भएर जानेछौं ।’यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया