शक्ति राष्ट्रका राजदूतहरू प्रमुख फेरिने वित्तिकै किन पुग्छन् सैनिक मुख्यालय ?

शक्ति राष्ट्रका राजदूतहरू प्रमुख फेरिने वित्तिकै किन पुग्छन् सैनिक मुख्यालय ?

सिग्देल प्रधानसेनापति भएपछि चिनियाँ र भारतीयसहित ४ देशका राजदूत पुगे जंगी अड्डा


काठमाण्डु – प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएको एक महिना अझै पुगेको छैन । यसबीचमा चीन, भारतसहितका राजदूतहरूले नवनियुक्त प्रधानसेनापति सिग्देलसँग भेटघाट गरिसकेका छन् । अमेरिकी राजदूतले समेत सैनिक मुख्यालयमा भेटवार्ताको लागि समय लिइसकेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रथी सिग्देललाई भदौ २४ बाट लागू हुनेगरी नेपाली सेनाको प्रमुख प्रधान सेनापतिमा नियुक्त गरेका थिए ।

प्रधानसेनापतिमा सिग्देल नियुक्त भएलगत्तै शक्ति राष्ट्रका राजदूतले एकपछि अर्को गर्दै भेटघाट गरिसकेका छन् । सेनाले राजदूतहरूका भेटघाटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास गरेको जनाएको छ ।

ती सबै भेटघाटहरू दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा केन्द्रित रहने गरेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले बताएको छ । प्रधानसेनापतिसँग राजदूतहरूका भेट जंगी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमै हुँदै आएका छन् ।

क–कसले भेटे ?

नयाँ प्रधानसेनापतिसँग भेट्ने पहिलो कुटनीतिज्ञ श्रीलंकाका राजदूत एयर चीफ मार्शल सुदर्शन पाथिराना हुन् । उनले असोज २ गते भेटवार्ता गरेका थिए । त्यसपछि असोज ४ गते नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सेनापति सिग्देलसँग भेटघाट गरे ।

असोज ७ गते फ्रान्सका राजदूत भर्जिनी कर्टेभल र संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीले प्रधानसेनापति सिग्देलसँग भेट गरे । असोज १३ गते नेपालका लागि चीनका राजदूत चेन सोङ्ले प्रधान सेनापति सिग्देलसँग भेटघाट गरे । भेटहरूमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

किन भेटछन् राजदूतहरू ?

राजदूतहरूले नवनियुक्त प्रधानसेनापतिसँग मात्र होइन, प्रधानमन्त्री र मन्त्रीहरू नियुक्त हुने बित्तिकै ‘बधाई र शुभकामना’को नाममा भेटने परम्परा नै बसिसकेको छ । मन्त्रिपरिषद् गठन भएको हप्ता दिन नबित्दै राजदूतहरू विभिन्न मन्त्रालयमा पुगेर बधाई र शुभकामना दिएर प्रधानमन्त्री र मन्त्रीहरूलाई भेट्दै आएका छन् । मन्त्रीहरू पनि राजदूतले भेट्न आउने जानकारी पाएपछि उत्साहित भएर बधाई थाप्न तयार हुन्छन् । जानकारहरूका अनुसार अन्य देशमा यस्तो चलन छैन, जुन नेपालमा सरकार परिवर्तनपिच्छै देख्न पाइन्छ ।

प्रधानमन्त्रीले आवश्यकताअनुसार कूटनीतिक अधिकारीहरूलाई बोलाएर भेट्न सक्छन् । तर त्यसका लागि राजदूतहरू परराष्ट्र मन्त्रालयको डेस्कमार्फत् आउनुपर्छ । तर नेपालमा मन्त्रीहरूले राजदूत भेट्नै पर्ने गलत प्रवृत्ति बसेको जानकारहरूको भनाइ छ ।कतिपय त राजदूत मात्र होइन राजनीतिक डेस्क हेर्ने कर्मचारी पनि मन्त्री भेट्न सिंहदरबार पुग्ने गरेका छन् । विदेशमा अन्य मन्त्रालयका मन्त्रीलाई भेट्न परराष्ट्रले अनुमति दिनुपर्छ । तर नेपालमा यस्तो नियम भए पनि कार्यान्वयन भएको पाइदैन ।

यस्तो अवस्थाबाट नेपाली सेना पनि फरक हुन सकेको देखिन्न । नयाँ प्रधानसेनापति बनेपछि शक्ति राष्ट्रका राजदूतहरू बधाइ र शुभकामना दिने भन्दै भेट्दै आएका छन् । भारत, चीन र अमेरिकाका मात्र होइन अन्य देशका राजदूतको प्रधानसेनापतिसँग भेट्ने होड नै चल्ने गरेको छ ।

नेपालमा सन् २००२ देखि सैनिक नेतृत्वलाई विदेशी राजनीतिज्ञ तथा कूटनीतिज्ञले प्रकट हुने गरी भेट्न थालेका हुन् ।

नेपालमा रहेका छिमेकी तथा मित्रराष्ट्रका राजदूतहरूले एकपछि अर्काे गर्दै सेना प्रमुख भेट्नुलाई कूटनीतिक क्षेत्रका जानकारहरू अस्वाभाविक भएको बताउँछन् । सैन्य कूटनीति सञ्चालनका लागि नियोगहरूमा छुट्टै सैनिक सहचारी हुने भए पनि नियोग प्रमुखले नै सेना प्रमुखलाई भेट्नु सम्बन्धित देशले नेपाल सरकार र त्यसको नेतृत्वलाई गरेको अविश्वासका रूपमा कतिपयले अथ्र्याउँछन् ।

सरकार र राजनीतिक नेतृत्वप्रति विश्वासको संकट बढ्दै जाँदा विदेशी देशका राजदूतहरूले विश्वसनीय र बलियो संस्थाका रूपमा रहेको सेनासँग समानान्तर रूपमा भेटघाट गरी सम्बन्ध बनाउन चाहिरहेको कतिपयको बुझाइ छ । नेपालमा सन् २००२ देखि सैनिक नेतृत्वलाई विदेशी राजनीतिज्ञ तथा कूटनीतिज्ञले प्रकट हुने गरी भेट्न थालेका हुन् ।

त्यतिबेला नेपाल भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री कोलिन पावेलले तत्कालीन शाही नेपाली सेनाका प्रमुखलाई भेटेको र त्यसपछि विदेशी कूटनीतिक नियोगका प्रमुखहरूले पनि सेना प्रमुखलाई भेट्न थालेका हुन् । प्रजातन्त्र पुनःस्थापना हुनुअघि भने विदेशी नियोग प्रमुखले सेना प्रमुखलाई भेट्ने प्रचलन थिएन ।

पछिल्लो समय सरकार र राजनीतिक दलहरूको साख गिर्दै गइरहेका बेला कूटनीतिक नियोगका प्रमुखहरूले सेनासँग समानान्तर सम्बन्ध विस्तार गरिरहेको र यो जननिर्वाचित सरकारका लागि शुभ संकेत नभएको परराष्ट्रका जानकारहरूको भनाइ छ । नेपालमा सेना विश्वसनीय र शक्तिशाली स्थायी संगठन भएकाले विदेशी कूटनीतिक नियोगका अधिकारीहरूले सेना प्रमुखलाई भेटिरहेको उनीहरूको भनाइ छ ।

कूटनीतिक क्षेत्रका कतिपय जानकार भने छिमेकी तथा मित्रराष्ट्रका नियोग प्रमुख तथा राजदूतहरूहरूले सरकारलाई विश्वास नगरेर सेनासँग सम्बन्ध विस्तार गर्दै जाँदा तत्काल यसको असर तत्काल नदेखिए पनि दीर्घकालमा सेनाको भूमिका बढ्न सक्ने अनुमान गर्छन् ।

नेपालमा रहेका कूटनीतिक नियोगका राजदूतहरू प्रधानसेनापतिलाई भेट्न सैनिक मुख्यालयमा पुगे पनि सेनाले भने सरकारको अनुमति लिएर मात्र उनीहरूसँग भेट्ने गरेको नेपाली सेनाको भनाइ छ । ‘राजदूतहरूले प्रधानसेनापतिसँग गरेका भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्छ’, नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसी भन्छन् । उनले यस्तो प्रकारको भेटघाट सामान्य रहको उल्लेख गर्दै नयाँ सेना प्रमुख आएपछि राजदूतहरूले भेटघाट गर्नु सामान्य प्रचलन रहेको उल्लेख गरे ।