१० देशमा एकै पटक राजदूत नियुक्त गर्ने सरकारको तयारी


काठमाडौं– सरकारले १० देशमा राजदूत नियुक्ती गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्रालयले हाल रिक्त रहेका चार र रिक्त हुन लागेका ६ देशमा समेत राजदूत नियुक्त गर्ने तयारी गरेको हो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजदूत नियुक्तीका लागी चांडै सिफारीस हुने गरी गृहकार्य भइरहेको जानकारी दिए ।

हाल भारत, न्युयोर्क, मलेशिया र युनाइटेड अरब इमिरेट्समा राजदूत खाली रहेको छ । त्यसैगरी क्यानाडा, फ्रान्स, कुवेत, दक्षिण अफ्रिका, थाइल्याण्ड र स्वीटजरल्याण्डको जेनेभास्थित स्थायी प्रतिनिधिको कार्यकाल समेत आगामी पुसमा सकिदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र राजदूत नियुक्तीको लागी छलफपल सुरु भइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजदूत नियुक्तीमा चांसो दिएका छन् । उनले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल मध्ये एक जनालाई भारतको राजदूत पठाउने मनशाय बनाएको स्रोतको दावी छ ।

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा भने अमृत राई वा सहसचिव भरतराज पौड्यालमध्ये एक जनालाई पठाउने तयारी छ । अमेरिकाका लागि राजदूत डा अर्जुन कार्कीले पनि न्युयोर्क जान लविङ गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयबाट सहसचिवहरु कृष्णप्रसाद ढकाल, दीपक अधिकारी, दुर्गाप्रसाद भण्डारी, गणेश प्रसाद ढकाल, भृगु ढृंगाना, गेहेन्द्रराज भण्डारी, मणि भट्टराई र तापस अधिकारी राजदूत वन्ने लाइनमा छन् ।

न्युयोर्कमा महावाणिज्यदुतवाट फिर्ता बोलाइएका सहसचिव मधु मरासैनीलाई पनि राजदूत पठाउन नेकपाभित्रै नेतृत्वलाई दबाव वढेको छ । न्युयोर्कमा राम्रो काम गर्दा गर्दै उनलाई फिर्ता बोलाइएकोमा पार्टीभित्रै आलोचना भएको थियो ।

राजदूत पदका लागि नेकपाबाट महेन्द्र पाण्डे, बिष्णु रिमाल, ऋषि अधिकारी, अन्जना शाक्य, डा केशब बस्याल, मनोजजंग थापा, र गोपाल खनाल चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement