चिनियाँ राजदूत यान्छीले भेटिन् गृहमन्त्री


काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । राजदूत यान्छीले बुधबार मन्त्रालय पुगेर गृहमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । भेटमा गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको बताएका थिए ।

चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

राजदूत यान्छीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको बताएकी थिइन । साथै उनले चीनको कुनमिङमा ३० मे बाट सिधा उडान गर्ने तयारी भएको जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement